नेपालका कैयन खाले सम्पदाहरुले विश्वसामु एकएक कृति सुम्पेको पाइन्छ । यसमा तक्षशीला विश्वविद्यालय पछि कर्नालीको पहिलो खस भाषा र लिपी अनि संसारको जेठो सभ्यताको उद्गम स्थल कैलाश पर्वत र मानसरोवर विश्वसामु यसकै सेरोफेरो हो । यसको सम्बन्धसँगै कर्नाली साम्राज्यमा मलय बम्म पछिका शक्तिशाली राज्य संचालकका एक कुशल शासक कल्याल वंशको उदय भएको इतिहास पढ्न पाइन्छ ।
यसका लागि विभिन्न इतिहासविदहरुको फरक मत रहेको पाइने गरेको छ । इतिहासकार राष्ट्रगुरु योगी नरहरिनाथको मत कल्याल वंशको इतिहाससँग सान्दर्भिक भएको बालकृष्ण पोखरेलको खसराज्यको इतिहासमा उल्लेख गरेका छन् । कैलाश र मानसरोवरको सांस्कृतिक महत्वमा जोडिएर आएको तथ्य कल्याल वंशको उदय भएको इतिहासमा पाइने गर्दछ ।
हिन्दूका पौराणिक ग्रन्थहरु शिव पुराण, स्कन्ध पुराण र मत्स्य पुराणमा साम्बाला वस्तिको महिमा सँगै कैलास पर्वतको वर्णन उल्लेखनीय छ । आदि मानवको प्राचीनकालमा इतिहासको आरम्भमा कैलाश पर्वतको निर्माण पिरामिडको रुपमा भएको मानिन्छ । पृथ्वीको उत्तर दक्षिण ध्रुवको केन्द्र मानिने कैलाश श्रृंखला भारतको काश्मिरदेखि तिब्बतको पठार (पामिर गाँठो) सम्म जोडिएको छ । वैद्धिक कालदेखि शिवको निवास रहेको विश्वास गरिने यो पर्वत समुद्री सतहबाट ६६३० मिटर उचाइमा अवस्थित छ ।
यसको परिधि ५२ किलोमिटर रहेको अनुमान छ । विश्वको उच्चशिखर सगरमाथा भन्दा दुई हजार दुईसय मिटर होचो भएर पनि हालसम्म विभिन्न मुलुकका कैयन पर्वतारोहीहरुले चढ्ने प्रयास गर्दा पनि अनेकन संकट पैदा हुने कारणले कसैले पनि आरोहण सफल गर्न सकेका छैनन् । कैयौं वैज्ञानिकहरु यसको खोज अध्ययन गर्दै हैरान भएको बताउँछन् । मानसरोवरको किनारसम्म मध्यदिउस कैलाशमा शंखध्वनी गुञ्जिने र मध्य दिनमा ओमको आवाज सुनिनुले सारालाई चकित पार्ने गर्दछ ।
यसलाई हिउँ खसेको आवाज अनुमान गरिने गरिएको छ । पर्वत चढ्न खोज्ने युवाका नंग्रा बढ्ने, राैंहरु फुलेर वृद्ध भएर फर्कने र आँखाको ज्योती गुमाउने प्रति पनि अनौठो हुनुले झन रहस्यमय बनाएको छ । कैलाश पर्वत वि.सं १४०६ सम्म नेपालको अधिनस्त थियो भने त्यसपछि चीनको तिब्बत खारी प्रदेशको अधिनस्त छ । हाल चीन सरकारले कैलाश पर्वत आरोहण गर्न रोक लगाएको छ ।
कैलाश सभ्यताको आदिकालको प्राचीन अवस्थामा यसको दक्षिण तर्फ भागिरथ कठिनतम तपस्याबाट शिवजीको आज्ञाले १३२० वर्ग किलो मिटर क्षेत्र भएको मानसरोवर (मानव मनको जैदिताल) निर्माण भएको मानिन्छ । यो ताल समुद्री सतहबाट ४५२६ मिटर उचाइमा रहेको छ । यसको परिधि ८८ किलोमिटर छ भने गहिराइ ९० मिटर रहेको छ । यसको रूप हिम पर्वत खस्दै खिइँदै विशाल बनेको मानिन्छ ।
यस निर्मल तालमा डुबेर नुहाउन र साबुन प्रयोग गर्न रोक लगाएको छ । यसतालबाट सिन्धु, सतलज, भागिरथ, ब्रह्मपुत्र र सरस्वती अस्ता नदीहरुको उद्भव भएको छ । यसको पश्चिममा रहेको लंकारी ताल, जो कर्नालीको मुहान रहेको र धमिलो पानी भएकाले पिउन अयोग्य मानिएको छ । यसका आसपासको वनस्पति पनि अनौठो खालका देखिने गर्दछन् । कैलाश र मानसोवरको प्राकृतिक शक्तिको अनौठो रुप मानिने भएकाले मलय बमले आफ्नो पौरख कृतिमान भएको अनुमान गरेको बताइन्छ ।
कैलाश पर्वतको महिमा बढाउन उत्पति भएको मानसरोवरलाई आस्थाको तिर्थ बनाएर भारतका राजपुत वंशकती राजकुमारी गंगादेवी आफ्ना बुबाको राज्य चलाउने दाजु भाई नभएर निःसन्तान भएकाले विश्व शक्तिको आस्थाको केन्द्र मानसरोवरको तिर्थाटन गरेर पिता वंशको उद्धार गर्ने उद्देश्यले बनाएर उत्तर तर्फ हिँडिन् ।
लामो समयको बिरक्त यात्रा पछि प्राकृतिक मनोरमको बेजोड रम्यस्थल कैलाशको अवलोकन गर्दै मानसोवरमा जलाहार गरेर फर्किइन् । यसरी फर्कने क्रममा कर्नाली किनारै किनार आएर खाँडाचक्र राज्यको कालैकोटका मेघमल रावलका परमा बस्ने गरिन् । त्यहाँ बसेका समयमा उनी गर्भवती भइन् । यस अगावै उनले कैलाश मानसरोवरको तिर्थबाट फर्किंदा बाटोमा गर्भवती हुदा जन्मेको पुत्र एक प्रतापी बालक बन्ने सपना बनाएकी थिइन् । कालैकोटमा उनले बच्चा जन्माइन् । यिनै थिए बलिरावल ।
कल्यालराज बलिरावलका बारेमा माताकोटबाट खाँडो जगाया भन्ने आलेखमा प्रेम कैदीले पालवंशी कल्याल बलिरावल उत्तिमराजका कान्छा छोरा हुन् भनि उल्लेख गरेको पाइन्छ । उनको भनाइ अनुसार उत्तिमराजलाई साउदीका मुसलमान आतंककारी तैमुरले रावलपिण्डीमा हत्या गरेको हुनाले उनकी रानी गर्भवती भएका बेला हत्याबाट बच्न भागेर घुम्दैघुम्दै जोगीदह (रारा ताल) को उत्तर तर्फ रहेको कार्लेकोटमा आएर लुकेर बसेका बेला कर्नाली साम्राज्यको सिंजा अधिपति मलय चम्मको शासनकालमा बलिरावलको जन्म भयो । उनका जेठा दाजु अजयराज बाज खेती गर्दथे भन्ने पनि उल्लेख छ ।
सानै उमेरदेखि चतुर र प्रभावशाली बनेका बलिरावलको बहेराजा मलय बमकी छोरी माल्ला देवीसँग विवाह भएको थियो । विशाल कर्नाली राज्यलाई आफ्नो शासनकालको उत्तराद्र्धमा आएर आफू कमजोर हुँदै गएपछि आकांक्षा अनुसार तीनवटा छोरालाई भागबण्डा लगाउँदा छोरी जुवाईं बलिरावललाई पनि मुगुको कालैकोट राज्य भाग लगाएका थिए । वि.सं १४५५ मा गमको कार्टी राज्य पाएका रावलले आफूलाई बलिराज भनि घोषणा गरे । यसैको प्रसंगमा कर्नालीमा विहानका बलिराउल, बास बलिराज भन्ने लोकगीत प्रचलित छ ।
यसरी राज्य पाएको केही समय आफ्नो प्रभावी व्यक्तित्व राज्य संचालनमा प्रखरता बढाएर वि.सं १४६१ मा बलिराजले धुमधामसँग मनाउन लगाएका थिए । यस पछि आफ्ना जेठान जक्तिसिंह (मेदी बम्म) निसन्तान भएकाले उनलाई खुशी पारेर सजिलै जुम्ला राज्य आफ्नो अधिनमा ल्याउन केही समय दुई जनाले संयुक राज्य संचालन गरेको ताम्रपत्रमा उल्लेख छ । उनको शेषपछि जुम्ला राज्य एकिकरण गरी छिनासिम गाउँमा राजधानी कायम गरेका थिए ।
जुम्लामा चन्दननाथले लछाल किर्ति पैकेलालाई माला, याला र दाना दह काटेर पानी सुकाउन लगाएर खलंगाको तालचौर देवकोटा वाडासम्मको बस्ती बनाएका थिए । यिनैको सम्झनालाई आस्था बनाएर भक्त भएकाले चन्दननाथ र बटुक भैरवको मन्दिर स्थापना गर्न लगाएका थिए । त्यतिबेला जुम्लामा धनीले गरिवका बच्चाहरु किनेर बलिदिने चलन बिस्तारै बदलेर देवमण्डवमा दास चढाउने प्रचलन थियो । जुम्ला राजधानी कायम गरेपछि बलिराजले लक्ष्मीपूजाका दिन देखि देवदासलाई मुक गरेर घरघरमा गएर भिक्षा माग्न पाउने उर्दी जारी गरे ।
यसको कालान्तरमा गएर देवदासले खेल्ने देउसी भैलोको रुपमा खेल्ने चलन पुष महिनामा कायम भयो । यस भन्दा अघि सन १३९८ मा मुसलमान लडाकु तैमुरको फौजले घमासान लडाइँ गरी विजय हासिल गर्ने ठूलो धनरासी खर्च भएकाले देउसी भैलो खेल्दै रमाइलो तरिकाले जनताबाट जम्मा पारेको कोष युद्ध तयारीमा खर्चने योजना बनाएका थिए ।
हामी त्यसै आएका हैनौं, बलिराजाले पठाएका । भन्ने देउसी गीतको भाव पौराणिक कालका दानीराजा बलिराजसँग भन्दा जुम्लाका बलिराजसँग बढी सान्दर्भिक छ । यो जनजातिको पनि रमाइलो चाड मानिने भएबाट बलिराजको पुर्खासँग मिल्ने गरेको एकथरी इतिहासकारहरुको मत पाइन्छ । जुम्ला राजधानी बनाएपछि सर्वप्रथम बलिराजले भन्य आयोजना गरी दानसागुमा कोटीहोम गर्ने कार्य सम्पन्न गरेका थिए ।
कल्वालका प्रतापी मानिने बलिराजले आफ्ना मामा मोती मल्लको बादेपिपलमा निधन भएपछि बझाङ राज्य समेत जुम्लाको अधिनमा पारी शासन चलाएका थिए । बलिराजले जुम्ला राज्य लिनुअघि नै यनका दाजु अभय रावलको नेतृत्वमा दिल्लीसम्म आक्रमण गर्न गएको कुरा उल्लेख गर्दै प्रेम कैदीले हरिद्वारका साउदी मुसलमान लडाकू तैमुरसँग लडाइँ गरेर देहरादुन समेत जुम्ला राज्यको अधिनमा बनाएको दानि गरेका छन् । यसरी बलिराजले ४७ वर्षसम्म प्रभावशाली राज्य चलाएका थिए ।
कल्याल वंशावलीमा चन्द्रवंशी, रबी गोत्र भएका मध्यनन्दिनी शाखा, रुद्र इष्टदेव मान्ने राजपुत पराना भनि उल्लेख छ । बलिराज अधिका आठ पुस्ता र पछिल्ला १५ पुस्ता गरी २३ पुस्ताले ३८५ वर्ष सम्म राज्य गरेको इतिहास पाइन्छ । योगी नरहरिनाथको टिप्पणीमा वत्शगण र भृगुशाखा भएका शुभजित रावल, सुकिल्ला रावल, पुकिल्ला रावल, विमा रावल, धिमा रावल, छोटा रावल, मोटा रावल र बलिरावल आठौं पुस्ता वि.सं १४५५ देखि १५०२ सम्म रानी माल्ला देवीरपुण्यमाला भएको रानाकर देवकोटाको वृहत जुम्ला राज्यको विवेचना पेज ४६५ मा उल्लेख छ ।
यस पछि वक्ष (वत्शराज) रावल, वि.सं १४६२ देखि १५०२, विजयराज रावल, विबोश (बिभोग) राज रावलाई मणी शाही भन्ने गरेबाट वि सं १६००, पछि शाइहुँदै शाह र कतै शाही उल्लेख भएको टिप्पणी पाइन्छ । यिनी बुढाकोटका राजा हुँदा चार छोराहरु रहेका थिए । यिनीसँग मणीराज र कुन्दराज समेत रहेको र विरभान शाहीले हुम्लासम्म प्रभावी राज्यमा पहुंच बनाएको इतिहासमा पाइन्छ ।
यस पछिका भान शाइले वि.सं १५८६ देखि १६४२ सम्म भुटान समेतलाई प्रभावमा पारेरका थिए । शलेम शाइ (विक्रम शाही भनिएका) ले तल्लो भुटान मानिने जुफालसम्म राज्य विस्तार गरेको पाइन्छ । विशान्राजलाई विवेक, बशान्त राज र बहादुर शाही भनेर पनि उल्लेख गर्ने गरिएको छ । यिनको राज्यकाल विक्रम शाहले सुनेकेशार अग्रवती रानीका साथ छिनासिममा रजस्थान राज्य बनाए ।
यसपछिका सुर्तिशाहीले वि.सं १६७५ देखि १६८२ सम्म राज्य गर्दा विरभद्र शाइले देउमाता रानीका साथ दार्चुलाको ब्यासगढी सम्म भुटानेका नाममा शासन गरे । त्यस पछि शिलिम शाही, जहागिर शाही, सुरथ शाही र सुदर्शन शाह रानी गंगाका साथ राजा भएपछिका शोभान (सूर्यभान) शाही कल्याल वंशका अन्तिम राजा भएका थिए । पछिल्ला पृथ्वीनारायण र नरनारायण भनि २५ पुस्ता योगी नरहरिनाथको टिपोटमा प्रेम कैदीले नरेन्द्रबहादुर शाह र धिरेन्द्रबहादुर शाह कल्याल वंशका राजखलक हुन् भनि दावीका साथ नामावलीमा नाम समावेश गरेको पाइन्छ । वंशावलीमा उल्लेख भएका तिथि, मितिहरु वि.सं शाके र सम्बतसर नमिलेर फरक भएका पाइने गर्दछन् ।
जुम्लाका ११ वटा नदी र ११ वटा पर्वतका बाइस राज्यहरुमा सबै भन्दा बलियो मानिएको वि.सं १४६१ देखि १८४६ सम्मको कल्याल राज्यमाथि नेपालको एकीकरणमा पटक पटक हार व्यहोरेर पृथ्वीनारायण शाहको वि.सं १८३१ मा निधन भएपछि उत्तराधिकारी बहादुर शाहका गोर्खाली फौजलाई विजय हासिल गर्न निकै हम्य भयो ।
वि.सं १८४० मा चौबिसे राज्यदेखि बाइसे राज्यका केही राज्य कब्जा गरेर भेरी साँध लागेपछि लामो समय लगाएर ६ वर्षको तयारी गर्दा जुम्ला राज्यको कुटनीतिक तवरले सबै चालचलन बुझ्न बिरभद्र पन्तको नेतृत्वमा सिष्टमण्डल भोटानको बाटो बनाएर मुस्ताङी राजा ओग्याल दार्जे समेतलाई बिर्ता दिने सर्त गरेर जुम्ला र जुम्लाका शोभान शाहीका प्रतिनिधि गोरखा आवत जावत गर्न लगाएर उपहार खलिता पत्र समेत गोरखाले दिएर उनका भतिजा सूर्यभान शाहीलाई मुसिकोटका राजा बनाइ नजिकिएको अवस्था थियो ।
त्यो कुटनीतिक चाल शोभान शाहीले नबुझेर आफ्नै शक्तिको घमण्ड गरेको देखिन्छ । ‘तेरालाग्दा शोभान शाही अ, लामा थाडा भंग’ भन्ने गीतले यो पुस्टि गर्दछ भनि मोहनबहादुर मल्लको ‘जुम्लाको अन्त्य’ भन्ने लेखमा पनि उल्लेख छ ।
वि.सं १८४६ साल कतै असोज विजया दशमीका दिन भनिए पनि कार्तिक १५ गते आइतबार नवमी (टिकाको अघिल्लो) का दिन दशैंका अवसरमा सबै रमाएर सैन्यबल समेत तितरवितर भएको बेला पारी शिवनारायण खत्री र सरदार प्रवल रानाको नेतृत्वमा आएको गार्खालीका दुईवटा पल्टनले उत्तर दक्षिण दिशाबाट एकैचोटी आक्रमण गरेर खलंगा र त्यसपछि छिनासिम कब्जा गर्दा नसाले मात्तिएका राजा लड्न नसकी कतै डोटी गएका भनिए पनि राजा शोभान शाही भागेर भुटान शरणमा पुगे । ‘भात खायो शोभान शाहीले, ताउली हाल्यो कुम्ला, जिति आयो गार्खाली अ, जनी मार जुम्ला’ भन्ने गीतले यो इतिहास जिउँदो राखेको छ । उनको भुटानले सहयोग गरेर पुनः जुम्लामा हमला गर्ने मनशाय भएपनि त्यो सम्भावना भएन । उनको भुटानमा शरणार्थी जीवनमा नै निधन भयो ।
‘भुटान मर्यो शोभान शाही अ, भंल्याउटाका टेका’ यहाँ पनि यो जुम्ली गीतले बोलेको छ । इतिहासकार योगिी नरहरिनाथको ‘इतिहास प्रकाश सन्धी संग्रह पृष्ठ ४०१’ मा इंगित छ । यसरी जुम्ला राज्यको पतनसँगै कल्याल वंशको शासन पनि अन्त्य भएको राजाराम सुवेदीको कर्नाली प्रदेशको मध्यकालिन इतिहासमा वर्णन भएको खडानन्द चौलागाईंको कर्नालीको परिचयमा पनि उल्लेखित छ ।
रास्कोटका रास्कोटी, कार्लेका कल्याल, छातीकोट कोल्टीका छत्याल, रकाल दराका रकाल र बावन्ने कोटका बम्महरु सबै ठकुरी मानिने गर्दछन् । शासनकालको अन्तपछि एक आपसमा ठकुरीका नाममा ठूलो र सानो मर्यादा बनाए पनि इतिहासमा ठकुरी नै उल्लेख भएको पाइने गर्दछ । हाल नेपालका पश्चिम क्षेत्रमात्र नभै अन्य विभिन्न स्थानका बस्तीहरुमा कल्यालहरुका सन्तती फैलिएर रहेका भेट्न पाइन्छ । त्यस पछिको बाँकी इतिहास आउने पुस्ताले संरक्षण गर्नु पर्दछ ।