काठमाडौ. । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पेन्सिल्भेनियाको एक र्यालीमा गोली प्रहार भएको छ । गोली ट्रम्पको कानबाट गएको भिडियो फुटेजहरू सार्वजनिक भएका छन् । गोली लागेपछि ट्रम्पको कानबाट रगत बगेको थियो ।
अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन एफबीआईले गोली चलाउने व्यक्तिबारे जानकारी दिएको छ । एफबीआईले पत्रकार सम्मेल गरी यो घटनाबारे जानकारी दिएको हो । एफबीआईले यो घटना ट्रम्पको हत्या गर्ने उद्देश्यले भएका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ ।
एफबीआईका फिल्ड अफिसर केभिन रोजेकले भने, ‘आज बेलुका हाम्रा पूर्वराष्ट्रपति डोनाल्ड जे ट्रम्पको हत्या प्रयास गरियो ।’ यता प्रहरीले शूटरको पहिचान भएको जनाएको छ । यो गोली काण्डमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय समाचार माध्यमहरूका अनुसार ट्रम्पमाथि १२० मिटर टाढाबाट एक २ वर्षीय युवकले गोली चलाएका थिए । उनले ट्रम्पको कार्यक्रमस्थलभन्दा टाढा रहेको एक कम्पनीको छतबाट एआर–१५ सेमिअटोमेटिक राइफलबाट गोली चलाएको जनाइएको छ ।
ट्रम्पमाथि उनले गोली चलायलगत्तै अर्को पट्टी रहेका सुरक्षाकर्मीले २०० मिटर टाढाबाट गोली हानेर उनलाई घटनास्थ्लमै मारेका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार गोली चलाउने युवकको नाम थोमस म्याथ्यू क्रुक्स भएको बताइएको छ । क्रुक्स पनि पेन्सिलभेनियाकै वासिन्दा रहेको जनाइएको छ ।
ट्रम्पले आफूमाथि गोली लागेलगत्तै हात उठाएर समर्थकलाई सम्बोधनसमेत गरेका थिए । उपचारपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको छ । यो घटनाको विश्वभरबाट निन्दा भइरहेको छ । ट्रम्प आगामी अमेरिकी चुनावमा राष्ट्रपतिका उम्मेदवार हुन् ।