असार ३० । चुनावी र्यालीमा गोली चल्दा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । आगामी राष्ट्रपतीय चुनावमा राष्ट्रपतिको उम्मेदवार रहेका ट्रम्प पेन्सिलभेनियामा चुनावी र्यालीमा सहभागी थिए । सोही र्यालीमा गोली चलेको हो ।
उक्त घटनामा परी ट्रम्प घाइते भएका छन् । उनको अनुहारमा रगत लतपतिएको देखिन्छ । त्यसक्रममा केही राउन्ड गोली प्रहार भएको जनाइएको छ ।
गोली चल्न थालेपछि ट्रम्प र्यालीमै रहेको पोडियममा झुकेका थिए । त्यसपछि सुरक्षाकर्मीहरूले उनलाई घेरेका थिए । सुरक्षा निकायले ट्रम्प सुरक्षित रहेको र उनको सुरक्षाको थप बन्दोबस्त गरिने जनाइएको छ ।
गोलीबारी भएपछि ट्रम्पलाई मञ्चबाट उतारिएको थियो भने त्यसलगत्तै सुरक्षाकर्मीले ग्राउन्ड खाली गराएका थिए । सुरक्षाकर्मीको जवाफी कारबाहीमा सन्दिग्ध बन्दुकधारीको मृत्यु भएको जनाइएको छ ।
ट्रम्पलाई लक्षित गर्दै भएको गोली प्रहारप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले निन्दा गरेका छन् । ट्रम्पमाथि भएको गोलीबारीको समाचार आफूले सुनेको र उनी सुरक्षित रहेको बाइडेनले उल्लेख गरेका छन् । उनले भनेका छन्- अमेरिकामा यस प्रकारको हिंसाको लागि कुनै स्थान छैन । हामी यसको निन्दा गर्दछौँ ।