• भाद्र १३ २०८१, बिहीबार

‘बा’ हरूको जय र पराजय !

असार ३१ २०८१, आईतवार

देशमा जनता पराजित छन्, बाहरू अपराजित ! अहिले पराजित देखिएका नानीका बा पनि अपराजित नै हुन् र पछिल्लो चुनावको सावाँ व्याज यिनले उठाइसकेका छन् । पराजित जनता त खाडीमा छन् या बाहरूको जय जयकार गाउँदै गर्दा धेरै बाकसबन्दी भएर फर्कँदै थिए र दर्जनौँ जनता त्रिशूलीमा घुसुरमुण्टो खेल्दै थिए ।

उन्नत र विकसित भनिएको चितवन र संघीयताको उन्नत सहर राजधानी काठमाडौँको सय कि.मि. वरपर ठूुला २ गाडीहरू हराउँदा कैयन दिनमा पनि फेला पार्न नसक्ने लोभतन्त्र बोकेको देश हो हाम्रो ! नेतृत्व साटासाटका लागि हँसिलो मुहारमा शीतल निबास पुगेका बाहरूमा देशको वर्षा र मन्सुनको पीडाबोध देखिएन ।

जनतालाई भुल्भुलैया देखाउन बानेश्वरको विशाल हलमा असार २८ गते लोकतन्त्रको नयाँ रिहर्सल भइरहेको थियो । भाषासेवी भानुभक्तको भोलिपल्टको जन्मजयन्ति पनि फिका देखिन्थ्यो, अझ शिक्षा मन्त्रालयको टिप्पणी आदेश र प्रज्ञाभवनको नेपाली भाषा, व्याकरण सिद्धाउने रणनीतिलाई अदालते संशोधन गर्नु परेको देख्दा ।

संयोग पनि कस्तो, जुन दिन अदालतले एक ‘बा’ लाई ठीक ३ वर्ष अघि सत्ताबाट बहिर्गमन गरेको थियो, अर्का बालाई आगमन गराएको थियो त्यसै दिन बहिर्गमनलाई पुनरागमन गराउने रणनीति तय हुँदै थियो । धेरैले भनेका छन् कागलाई बेल पाकेर हर्ष न विस्मात्, तर बढी घाटा परेको छ बाका सन्तानहरूलाई अहिले ।

पुराना बाहरूले लोकतन्त्रको पुस्तान्तरण गर्दैनन् भन्ने कुरो नयाँ सन्ततिलाई याद भएन र भएको साखलाई पनि जोगाउन सकेनन् यिनले ।
त्यसो त बा शब्द पछाडि पर्नु नै लोकतन्त्रको शोभा छ, अगाडि परेका बालेनसँग लेनक्रसको भारी सावाँ व्याज समेत फिर्ता गराउने पक्षमा छन्, पछाडिका बाहरू । यसको गतिलो प्रमाण त विजुलीका पोल पोलमा स वि लेख्दै लोकतन्त्रले नेपाली सभ्यताको विनाश गरेको बाटै स्पष्ट हुन्छ ।

सामाजिक सुरक्षा भन्दै ७६ तिर ओलीबा विजुलीको पोल पोलमा झुण्डिएका थिए । पेन्सनहोल्डरको समेत आइडी खोज्दै नेस्नल बनाउन खोज्ने र कोठामा बसिखाऊ भन्दै बूढाबूढीलाई मासिक ४ हजार रकम उपलब्ध गराउने बाहरूको लोकतन्त्र सबैतिरबाट धेरै विरोध आएपछि आइडी खोजी कार्यबाट पछि हटेको छ ।

मानौँ ठूलो स्वरमा २ मिटर अघि बढेको जस्तो गरेर ४ मिटरको ब्याक् गेयर लगाउने लोकतन्त्रले ६२ साल अघिका सहयात्रीलाई सत्ता सुम्पेको छ । अघिल्ला बाहरूको मिलेमतोमा पछिल्ला बालाई केही झड्का महसूस भए पनि पहिलाका बाहरूको प्रेरणाले नै पछिका बाको बोलवाला भएको हो ।

यसो भनौँ ३ बाहरू नै नेपाली लोकतन्त्रका पर्याय हुन् । दुनियाँलाई देखाउन गरिएको हो यो दृश्य मात्र हो, वास्तवमा ३ बा एउटै ड्याङका मूला हुन् र एक से एक चोचोमोचो मिलेको छ उनीहरूको । जुन कुराको पुष्टि बानेश्वरको हलमा एक बाका सन्तानले तपाईं पनि बस्ने कोठा यही हो, अन्त जान सक्नु हुन्न भने बाटै हुन्छ ।

अझ स्वर्ग र नर्कसंगै जाने हो भन्ने कुरोले पनि स्पष्ट हुन्छ । बाहरूको भाषा मात्र फरक हो काम र तिनको कार्यशैलीमा भिन्नता छैन, देउबा, ओलीबा र नानीका बामा खासै भिन्नता छैन र लोकतन्त्रले देशमा सुधार बा, सुशासन बा विपत्तिबाट जोगाउँछ भन्ने सोच गर्नु भनेको दिउँसै सपना देख्नुसरह हो ।

प्राकृतिक प्रकोपले देशमा सङ्कटकाल घोषणा गरी सबै संयन्त्र विपत्तिविरूद्ध एकजूट हुनु पर्ने असारको त्यो हप्ता लोकतन्त्र भने शीतल निबास, बालुवाटार, बानेश्वर र सिँहदरबारमा रूमल्लिरहेको देखिन्थ्यो र राहत कार्ययोजना, दैवी प्रकोप विरूद्धको नयाँ नयाँ रणनीति फलाक्ने गृह मन्त्रालय नै बानेश्वरको हलबाट बहिर्गमन हुँदै थियो ।

बाहरूको नजरमा छयालिस सालदेखि लोकतन्त्र सक्रिय भएको देखिए पनि सन्ततीहरूको नजरमा लोकतन्त्र मूच्र्छित छ, बाकै कारण बानेश्वर दुईपल्ट प्रत्यक्ष नै मूच्र्छित परेको हो । लोकतन्त्रलाई कोमामा पुर्याउने ओलीबाको हातमा सत्ता साँचो अहिले फेरि पुगेको छ अर्का देउबाले शीतल निबाससँगै गएर यो कार्यको सबूद दिएका छन् ।

यो त औपचारिकता मात्रै हो खासमा त त्यतिबेलै भाउजु सहित देउबा गएर बालकोटका बार्दली बालाई लोकतन्त्र सुम्पिसकेका थिए । ओलीबा को प्यारो सन्तान पनि अब नानीका बा तिरको ६३ मततिर देखिनुले धर्मपुत्रमाथि पनि अविश्वास स्पष्ट हुन्छ र विश्वासमा अविश्वास, अविश्वासमा विश्वास यस्तै हो नेपाली लोकतन्त्र । इमान्दारिता, निष्ठा, नैतिकताको पाठ पढाउने नेपाली धर्मलाई त सबैले पहिले नै बिर्सेका हुन् । अब त कहीँ कसैको दर्शन बा संस्कार देखिँदैन ।

नो नट् एगेन नारा लिएर धेरै लोकप्रिय भएका अनुज पुस्ताले बा हरूको पछि लाग्नु गम्भिर भूल थियो, यसबाट चौरासीमा पनि अघि बढ्न मुस्किल हुन्छ र यो कुरोको पुष्टि इलामको उप निर्वाचनले पनि गराइसकेको थियो । भाउजुहरूका देवरहरूले त छिनभर सहेका थिएनन्, पहिलो एक महिना र दोस्रो पल्ट ४ महिना सिँहदरबारको झण्डा हल्लाउनु भनेको आगोको लप्कामा पौडी खेल्नु सरह थियो, त्यतिबेलै भुत्भुते खरानी त आप्mनै महामन्त्री भइसकेका थिए ।

अर्को अश्त्र विपक्षीहरूले निलम्वनकै माग गरेर अदालततिर छर्दै थिए । रबि भाइलाई बा हरूले सिध्याउने खेल याद भएन । नो नट् एगेनकै अडानमा बसेको भए चौरासीमा उनले बालुवाटार बसेर बा हरूलाई घरैमा गएर वृद्ध भत्ता बाँड्न सक्ने हुन्थे । एक बा लाई ललितानिबास र भूटानी शरणार्थी अर्का बा लाइ गिरिबन्धुदेखि अन्य बा हरूलाई क्यान्टनमेण्ट सम्म सबैतिर लोकतन्त्र छर्दै हिँड्नु पर्ने कुरो रविले बुभ्mन सकेनन् र उनलाई सहकारीहरू थोपरिँदै आए ।

परीक्षामा ३५ नम्बर पास मार्क हुँदा पनि ३२ नं आउँदा सफलताको घोषणा गर्ने ओलीबा, देउबा नै हुन् । दक्षिणतिर ३२ सिट नपुग्दा ढाडस दिन जाँदा पनि अहिले उताबाट चासो नदिएको भान हुन्छ र उताकाले पनि यताको बाँडचूँडको इतिहास सम्झेको महसूस हुन्छ । पालैपालो सिट बाँड फाँड यहाँको लोकतन्त्रको सभ्यता नै हो ।

पछिल्लो पाँच वर्ष पनि ३ बा हरूको आडमै लोकतन्त्र रहने हो र १ बा को समय सकियो अब २ बा हरूले लोकतन्त्रको रसास्वादन गर्नेछन्, बाँकी सन्तान बेवारिसे नै हुन्, यो सबै पूर्व नियोजित हो र अहिले नाटकको नयाँ दृश्यले जनता अल्मलिएका मात्रै हुन् । नानीका बा लाई चितवनबाट गोर्खा गल्हत्याउने नयाँ सन्ततिले २८ गते ३२ को पास मार्कलाई ६३ मत देखाउन सहयोग गर्नुले लोकतन्त्र पुरानो र नयाँ पुस्तामा भिन्न छैन भन्ने पुष्टि गरेकै छ ।

बा हरू बालेनसंग सिँगौरी खेल्छन्, नेपालीहरू गरिवी र भोकमरी संग, अनि बाढी र पहिरो संग, आगलागी र चट्याँग संग बा कोरोना, डिँगो, भूकम्पसंग अथबा विदेशीको यातनासंग, विदेशमै भनौँ विप्रेषणसंग । असारको मध्य मन्सुनमा ३९ प्रतिशत रोपो रोपाइँ हुने देशमा लोकतन्त्रले विकास खर्च भनौँ पूँजिगत आधा गर्न सकेको छैन ।

सबै तिर उधारो छ भूक्तानी हुन र बेरूजु सबैभन्दा धेरै छ, केन्द्रको निजामती नेतृत्व मात्रै होइन पालिकाहरूका मेयर उपमेयरको ताँती नै लागेको छ भ्रष्टाचारको मुद्दामा । पछिल्लोपल्ट त बेचनले बेचैन गराए लोकतन्त्रलाई ।

अरू सम्भावित केसले पनि भोलि साना सन्तानहरूलाई फेरि उठ्ने वातावरण त तय गरिहाल्छ, कारण मसानमै मुर्दा पर्ने हो, मसान बाहिर बसेका र लोकतन्त्रको चास्नी नपाएको समूह भनेको निरीह नागरिक मात्रै हो र देशमा नागरिकभन्दा नेता र कार्यकर्ता धेरै छन्, लोकतन्त्रको रसास्वादन कसले कसरी लिइरहेको छ भन्ने सबैलाई थाहा छ नै ।

अदालतले ओली बा लाई पदमुक्त गरायो देउबा लाई दिलायो पहिले, देउबाले त्यसको ऋण तिरेका छन् ओली बा लाई अहिले, पासमार्क पनि नल्याएर पहिलो पौने २ वर्ष रस चाख्ने नानीका बा संग बाँकी २ बा हरूको मिलिभगत छैन भन्ने कुरोमा असहमत हुने ठाउँ छैन र आउने चौरासीमा पनि लोकतन्त्रले उनासीको झैँ रिहर्सल नगर्ला भन्न पनि सकिन्न ।

बाहरूले एक अर्कामा ऋण चुक्ता गर्दै जाने तर देशले भने २५ खर्बको ऋण बोक्दै जाने लोकतन्त्रलाई घाँस खुवाएरै पालेका छन् नेपाली जनताले । भान्छामा भ्याट लगाएर पनि ३ बा हरू सम्बद्ध प्रतिष्ठानहरूले अर्थ मन्त्रालयको रातो कितापबाट कति दूध भात पाएका छन् त्यसबाट पनि स्पष्ट हुन्छ र त्यो रकम लाखमा होइन मोटै भइरहेको छ, एक से एक बराबरीमा ।

देशमा जति व्यापारघाटा छ त्यति नै विप्रेषण छ र व्यापारघाटा बढाउन आयातीत बस्तुको भन्सार आय र विप्रेषणले देशको अर्थतन्त्र चलायमान छ, लोकतन्त्रलाई यो थाहा छ कि देशमा कर्मशील युवा रहे भने आफ्नै सुनको थाल खोस्छन् र घण्टी बजाउँछन् । यहाँको घण्टीलाई रन्थनाउन सफल भएको ३ बा हरूको लोकतन्त्रलाई अहिले काठमाडौँको लौरो घाँडो भएको छ जसरी लौरो उठाए पनि जित्छन् भन्ने देउबाका पुर्खा गणेशमान अनि लौरो छाता, सुराही लिने कृष्णप्रसादहरू यिनलाई पहिले नै घाँडो भएका थिए ।

मन मोहन, मदन भण्डारीहरू पनि घाँडो भएको र दास ढुँगाकै आसपास दुई बस सती जाँदा ओलीबा, देउबाहरू राता राता गालामा शीतल निबासभित्रको लोकतन्त्रमा रमाइरहेका थिए । बि पि हरूको आदर्शलाई पहिले नै लत्याएका सन्तान गगनदेखि सहाना र मनमोहनको पदचाप बिर्सेका योगेशहरू पनि लोकतन्त्रको चास्नी भित्र बानेश्वरमै रमाइरहेका देखिन्थे ।

तिनलाई थाहा थिएन पूर्वको पाँचथरको विपत्ति या भनौँ कपनखोलाको आफ्नै जग हल्लिएको । बालेनको डोजर कपनखोलामा घुम्दा जगैका गगनहरू देखिँदैनथे त्यहाँ, यसबाट स्पष्ट हुन्छ दल या नेताले जनताको दैलो केवल चुनावमा मात्र सम्झने छन्, जनता पाँच वर्षमा जम्मा जम्मी चुनावको एक दिन शासक हुने, बाँकी सबै दिन शोषित र पिडित हुने लोकतन्त्र र गणतन्त्र भएको देश यो मात्रै हो विश्वमा ।

सुडान, सोमालियाहरूको पनि पिडा उस्तै होला तर हाम्रा बा हरूले देशलाई सिँगापुर, स्वीडेन, स्वीट्जरलैण्ड बनाउँछु भने तर नेपाल बनाउँछु भनेनन् र सुशासनको एक नम्बर आउने देश डेनमार्ककी प्रधानमन्त्री साइकलमा कार्यालय जाउ आउ गर्छिन् भन्ने याद पाएन । यहाँ बा हरूको सुरक्षाको ताँती कत्रो छ बा नानीका बा लाई पहिले जस्तै सुरक्षाको थुप्रो लगाइरहने कि घटाउने अहिले नै भन्न अप्ठेरो छ ।

हुन त देशको लोकतन्त्रको परिचय नै नेताको सुरक्षा र सुविधा हो, अन्यत्र सुरक्षा आबश्यक छैन, यहाँ चुच्चे नक्सा देखिन्छ, त्यही नक्सा विदेशतिर खोज्दा बुच्चे भेटिन्छ, नागरिक सुरक्षा नचाहिने लोकतन्त्रको २८ गतेको नयाँ परिभाषा गर्दा सय्यौँ मान्छेको एक चिहान भइरहेको देखिन्थ्यो ।

एक बाका पूर्खाले बालुवाटार प्रवेश गर्नासाथ भट्टेडाँडाको थाई एयर सती जाँदै गरेको अनि बाहरूकै पूर्खाले सिँहदरबार बालुवाटार गर्दै रहँदा गोसाइँकुण्डको घोप्टेभीरमा अर्को एयर सती जाँदै गरेका थिए । मार्ग फरक हो हवाइ र स्थल मार्ग, मुग्लिँग मार्ग आजको मात्रै समस्या होइन लोकतन्त्रले बुझ्नै चाहेन डृाई सिजन भनौँ जेठमा त्यताको यात्रा गर्दा त्यही ठाउँमा ढुँगा खसेर डोजरलाई अचार बनाइदिएको प्रत्यक्ष दृश्य त पंक्तिकारले आम मेडियाबाट सर्वत्र प्रस्तुत गरेकै थियो । हाम्रो पूर्वाधार कस्तो छ भन्ने कुरो त बन्द मेलम्ची र बुटवल नारायणघाटको सडक अबस्थाले पनि पुष्टि गर्छ नै ।