काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले प्रचण्ड नेतृत्वको सरकारले हिजोका काला कर्तुतमाथि निर्मम भएर अग्रसर हुँदा अत्तालिएर कांग्रेस–एमाले एक ठाउँमा आएको बताएका छन् । हिजो आफूहरूले गरेका काला कर्तुतको ढाकछोपका लागि नै उनीहरू मिलेको कर्णालीका पूर्वमुख्यमन्त्री समेत रहेका शाहीको भनाइ छ ।
शनिवार सुर्खेत विमानस्थलमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै शाहीले अहिलेको गठबन्धन बन्नुमा नेपालको भू–राजनीति पहिलो कारण रहेको बताए । ‘यो देश भूगोल रणनीतिक महत्वको छ । जसका कारण अन्तर्राष्ट्रिय शक्तिहरुले आफ्नो प्रभुत्व नेपालमा जमाउन चाहन्छन्,’ शाहीले भने, ‘त्यसका लागि आफ्नो असल पात्र वा दलाल चाहिएको छ र उनीहरुले बनाउँछन् । हरेक चुनावमा पनि बाह्य शक्तिले चलखेल गर्छ ।’
चलखेल गर्न सजिलो होस् भनेर नै नेपालमा स्पष्ट बहुमत कुनै पनि राजनीतिक दलको आउन नदिन बाह्य शक्तिले प्रभाव जमाउने गरेको शाहीको भनाइ छ । शाहीले अगाडि भने– ‘अहिले कांग्रेस–एमालेले अस्थिरता भएकाले स्थिरताका लागि हामी ठुला दलहरू मिलेका हौँ भनिरहेका छन् । स्थिरता त हिजो राजा, राणा, पञ्चायतकालमा पनि थियो । समग्र विकास, आर्थिक समृद्धि र सामाजिक न्यायको कुरामा देश कमजोर रह्यो । सीमित मान्छेहरू राज्यसत्ताको घेरामा थिए । सबैको नियत भनेको देश बनाउने नभई आफ्नो मुनाफातिर केन्द्रित रहे ।’