• मंसिर १२ २०८१, बुधबार

कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न हस्ताक्षर बुझाए

असार २९ २०८१, शुक्रबार

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न हस्ताक्षर बुझाएका छन् । शुक्रबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको ओलीको कार्यकक्षमा बसेको बैठकमा कांग्रेस–एमालेको बैठकले प्रधानमन्त्रीको दाबीका लागि पत्र तयार पारेको हो ।

कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थन लिएर ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले भने, ‘प्रधानमन्त्री दाबीका लागि बहुमत कांग्रेस र एमालेको समर्थन भए पुग्छ । दुई दलको समर्थन पत्र लिएर केपी ओलीजीले दाबी पेस गर्नुहुन्छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहालको विपक्षमा कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोसपा, नाउपा लगायत दलले मत जाहेर गरेका थिए । तर, ओलीलाई प्रधानमन्त्रीमा नियुक्तका लागि कांग्रेस र एमालेको मात्र समर्थन रहने छ । जसपा, जसपा नेपाल, जनमत, लोसपा र नाउपालाई एक–एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउने कांग्रेस र एमाले सकारात्मक छन् । उनीहरुले ओलीले प्रधानमन्त्रीको विश्वासको मत लिँदा पक्षमा मतदान गर्ने छन् ।

कांग्रेस–एमाले सत्ता समीकरणमा सामेल हुने अन्य दलले ओलीलाई विश्वासको मत मात्र दिने छन् । प्रमुख सचेतक रमेश लेखकले उक्त पत्रमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने छन् । ‘राष्ट्रपति नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ । त्यसपछि हामी दाबी गर्न जान्छौँ,’ लेखकले भने ।