• माघ १६ २०८१, बुधबार

‘ग्याब्रियले’ कथासँग एकसाता बिताउँदा !

असार २९ २०८१, शुक्रबार

कथाकार हरिश कल्पित सरलाई एक-दुइचोटी कार्यक्रमहरूमा देखेको थिएँ । तर बोलचाल थिएन, उहाँसँग मेरो ।
एकदिन फेसबुकमा हरिश सरले विहे कथा वाचनको लागि तयार पारेको पोष्टर शेयर गर्नुभएको रहेछ । म त्यतिखेर आफै पनि कथा सङ्ग्रहको तयरी गर्दै थिएँ । र नयाँ कथाहरू पढ्दै पनि थिएँ । हरिश सर फेसबुकमा साथी पनि हुनुहुदो रहेछ तर हाम्रो संवाद थिएन ।
मैले म्यासेज गरेस,
सर । हजुरको कथाको लिङ्क पठाउनु न म पढ्छु ।
उहाँले दुइटा कथाको लिङ्क पठाईदिनु भयो । मैले उहाँको कथा पढे । केहि दिनपछि प्रदिप सापाकोटा भाइको नियात्रा बिमोचन कार्यक्रममा मैले उहाँको कथा संङ्ग्रह ‘ग्याब्रियले’ पाएँ । एक सात ग्याब्रियले भित्र हराउँदाका मनमा उठेका तरंगहरू म यहाँ लेख्दै छु ।
सर्वप्रथम त मलाई ‘ग्याब्रियले’ कथाको आवरणले नै आकर्षित गर्यो । एउटा युवकको औंला समाई रहेको बालकको हातले धेरै कुराको धेरै अर्थ परिभाषित गरे झैं लाग्यो । यस धर्तीमा बालकले आमाको गर्भबाट जन्म लिएर संसार देखेपनि, यस संसारमा दह्रो भएर उभिन बाबुको हात र साथ चाहिन्छ भन्ने जीवन दर्शन यस आवरण दिएको छ । जीवनमा अन्ध्यारा र उज्याला पाटाहरू हुन्छन नै । त्यसको पनि संकेत गरेको छ । क्षितिजमा सूर्यास्त हुनै लाग्दा आफ्नो गुँड संम्झेर उडेका चराहरूले जो जहाँ, जुन भुगोलमा भएपनि आफ्नो देश फर्किने संन्देश दिए झै लाग्यो मलाई ।
यो सुन्दर आवरण निरव सुवेदीले तयार पार्नु भएको रहेछ । बसन्तराज अज्ञातको साजसज्जाले कृति आवरण झनै सुन्दर बनेको छ । यो कृति आवृत्ति छापाखानाले मुद्रण गरेको हो भने प्रेमकुमारी सुवेदी (कथाकारको आमा) ले प्रकाशनमा ल्याउनु भएको छ । २०७७ सालमा प्रकाशित भएको उक्त कृतिको मूल्य रू. २७५ रहेको छ ।

कृतिभित्रः
पहिलो पृष्ठमा कथाकारले आफ्नो कथा कृति ‘ग्याब्रियले’ स्व.दाजु लालचरण सुवेदीलाई समर्पित गर्नुभएको छ ।
समय र सम्बन्धहरूलाई सापेक्षताको कसीमा घोटिएका कथाको संङ्ग्रह ‘ग्याब्रियले’ भनेर बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ले कथामा मिहीन ढंगले भूमिका मार्फत् कथाको समीक्षा गर्नुभएको छ । त्यसपछि,
आफ्नो भनाई मार्फत् कथाकारले कथा लेख्नुको उद्धेश्य, कथा लेखनमा हौसला दिने ब्यक्तिहरूको नाम उल्लेख गर्नुभएको छ ।
१५२ पृष्ठको यस कथा संङ्ग्रहमा १३ ओटा कथाहरू समावेश भएका छन् । कयौं कथाहरू जापानीज भुगोल र परिवेशमा लेखिएका छन् । कथाकार लामो समयसम्म जापानमा बसोबास गरेको हुदाँ त्यहाँको भुगोल, संस्कृति, परिवेशले कथामा राम्रो प्रभाव परेको देखिन्छ । ती कथाहरूमा जापानीज माटोको मिठो सुगन्ध आउँछ । दुई देशीय धुब्रले ल्याएको दुरी, बिछोड, छट्पटी, कुण्ठाले ध्वस्त पारेको लथालिङ्ग जीवन पढ्दा दुःख पनि लाग्छ ।
कथा पढ्दै जाँदा कथाले पाठकलाई चुम्बक झै तान्दै लान्छ । दिक्क लाग्ने कुनै कथा छैनन् । कथा सलल बगेकाछन् । पात्रहरूको संवादले त कथा जिवन्त लाग्छन् । कथा जीवनको कुनै मोडको एउटा घटना हो । त्यो दुःखद पनि हुनसक्छ, सुखद पनि हुनसक्छ । यस संङ्ग्रहभित्र जीवनका सातै रंग समेटिएका छन् । ग्याब्रियले भित्रका कथाले पाठकको मन छुन सक्नु नै कथाकारको सफलता हो ।
ग्याब्रियले कथा संङ्ग्रहको शिर्षस्थ कथा ग्याब्रियले नियाल्दा :
ग्याब्रियले युरोपेलियन शब्द हो । यसको अर्थ चहिँ ईश्वर नै मेरो शक्ति हो भन्ने बुझिन्छ । यो कथा ६८ पृष्ठबाट सुरू भएर ७७ पृष्ठ सम्म फैलिएको छ । ग्याब्रियले कथाभित्र दुइहजार, पाँचसय, अन्ठानब्बे शब्दहरू रहेकाछन् । यस कथामा प्रथम पुरूष म पात्र प्रयोग भएको छ ।
नेपाली भूमिबाट आफ्नो भविष्य खोज्दै जापान पुगेका नेपाली युवक हरिश, युरोपबाट आएर जापानलाई कर्मक्षेत्र बनाएका थोमस, जापानीज नागरिक मिका यस कथाका मुख्य पात्रहरू हुन् । थोमश र मिका बिचको प्रेम, अन्तरद्वन्द घात, धोकाबिच कथा रूमलिएको छ ।
सुरूमा थोमश र मिका बिच गहिरो प्रेम हुन्छ । प्रेमलाई त्यो जोडीले विवाहमा परिणत गर्छन् । पछि उनीहरूको सन्तान जन्मिन्छ । बच्चाको नाम थोमशकी आमाले युरोपेलिन भाषामा ‘ग्याब्रियले’ राख्छिन् । जसको अर्थ हुन्छ ‘ईश्वर नै मेरो शक्ति हो ।’
सन्तान प्राप्तिपछि सुखद जीवन अंगाल्दै गरेका थोमशले आफ्नो देश फर्किने कुरा गर्छ अनि द्वन्द सुरू हुन्छ । मिका जापान छोड्न मान्दिन र बिना खबर बच्चा लिएर ऊ बेपत्ता हुन्छे । थोमशको जीवनमा एकाएक सोनामी आउँछ । ऊ त्यही पीडाले बिझिप्त बन्छ । पछि अदालतमा मिकाले संम्बन्ध बिच्छेदको निवेदन हाल्छे । थोमश बिछिप्त बन्छ म अब कहिले मेरी छोरी ग्याब्रियलेलाई भेट्न पाउँदिन होला ? भन्दै कथा अन्त भएको छ ।
यति ससक्त कथा संङ्ग्रह पढ्ने अवसर दिएकोमा कथाकार हरिश कल्पित सरलाई हार्दिक बधाई कथाको लागि र शुभकामना आगामी कथा यात्राको लागि !!