• मंसिर ७ २०८१, शुक्रबार

नेपालमा मनसुनले कस्तो प्रभाव पारिरहेछ ?

असार ३० २०८१, शनिबार

काठमाडौं । नेपालका औसतमा जुन १३ मा मनसुन भित्रन्छ र अक्टोबर २ मा बाहिरिने गर्छ । तर, यो वर्ष भने मनुसुन ५ दिन अघि नै नेपाल भित्रियो । मनसुनी प्रणाली भित्रिएयता देशभर सामन्य, मध्येम र भारी वर्षाका कारण विपद्जन्य घटनाबाट बाढी पहिरो र चट्याङमा परेर यो वर्ष ७० जनाको ज्यान गएको छ ।

मौसमविद् रञ्जन शर्माका अनुसार विगतमा भन्दा यो वर्ष मनसुन छिटो आएसँगै केही क्षेत्रमा अत्याधिक वर्षा भएको रेकर्ड छ । सामान्यतय मनसुन अवधिभर १३ सय मिलमिटर सम्म वर्षा हुने गरेको भएपनि यो पटक कञ्चनपुरमा अत्याधिक वर्षा भयो । तीन दिनकै अन्तरमा कञ्चनपुर क्षेत्रमा ९ सय मिलिमिटर सम्म वर्षाको रेकर्ड कायम भयो । यो ७७ वर्ष यताकै उच्च रेकर्ड हो । विगतमा यसरी एकै ठाउँमा वर्षा भएको कुनै रेकर्ड छैन ।

साथै यो वर्ष मनसुन भित्रिएसँगै विपद्जन्य घटना घट्ने क्रम रोकिएको छैन । नेपालमा मनसुन भित्रिएयता एक महिनाको ७० जनाले ज्यान गुमाएका छन् भने ८ करोड २० लाख भन्दा बढीको हानी नोक्सनी भएको छ । त्यस्तै भरी वर्षा सुरु हुनु भन्दा अगावै भएको यो क्षतिलाई हेर्दा पनि आागमी तीन महिनाभित्र नेपालमा विपद्बाट ठूलो नोक्सानी हुने देखिएको मौसमविद् शर्मा बताउँछन् । यस समयमा २५९ पशुचौपाया मरेका छन् भने ४ सय वटा जलवायुजन्य घटनाहरु बाढी, पहिरो, डुबान, चट्याङ भएका छन् ।

यो सिजनको मनसुनको अवधि अझै तीन महिना बाँकी रहेको छ । एक महिनाकै अवधिमा देशको धेरै ठाउँमा धेरै क्षति हुनुले अबको तीन महिनाको अबधिमा थप सजगता अपनाउनु पर्ने विज्ञहरुको भनाई छ । जलवायु परिवर्तनका प्रभाव र मौसमी मनसुनी प्रणालीमा आएको परिवर्तनले देशका केही ठाउँमा अत्याधिक वर्षा हुँदा धनजनको क्षति अझै बढ्न सक्ने भएकाले पूवतयारी पुग्न नसकेको विज्ञहरुको मत छ । मनसुनको न्यून चापिय रेखा नेपालमा रहेकाले अझै भारी वर्षाको सम्भावना बाँकी रहेको मौसमविद् शर्मा बताउँछन् ।

मनसुन भनेको सामान्य शब्दमा भन्नुपर्दा हावा वहने दिशाको अथवा हावाको दिशा परिवर्तन हुनु हो । यसरी दिशा परिवर्तन हुँदा भारी वर्षा गराउन वा सुक्खा पनि गर्न सक्छ । मनसुन सामान्यतया एसिया र दक्षिणपूर्वी एसियामा सम्बन्धित छ । तर, संयुक्त राज्य अमेरिका र अन्य उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रमा पनि मनसुन देखा पर्छ ।

मनसुन शब्दको उत्पत्ति अरबिक भाषामा हावाको मौसम अर्थात् ‘मउसिम’बाट भएको हो । मनसुन हावाको दिशा परिवर्तन हो । ऋतु परिवर्तन भएसँगै जमिन र समुद्री तापक्रममा हुने फेरबदलले हावाको दिशा परिवर्तन हुने मौसमविद् शर्माको भनाई छ । भारतीय उपमहाद्धीपमा प्रिमनसुनको अवधिको उच्च तापमानले न्यून चापीय क्षेत्र बनेको हुने र सो क्षेत्रबाट बगेर मनसुनी हावा नेपालसम्म आउने गर्दछ ।

गर्मीयामको समयमा पानीको सतह भन्दा छिटो जमिन तात्छ । मनसुनी हावा सधैँ चिसोबाट तातो ठाउँतिर वहन्छ । यसरी गर्मीयाममा जमिनबाट निस्कने तातो हावाले हावाको दिशा उल्टो हुने अवस्था सिर्जना गर्छ । मनसुन अगाडिको अवधिमा नेपालमाथि माथिल्लो वायुमण्डलमा हुने उच्च वेगको हावा विस्तारै उत्तरमा तिब्बती पठारतिर सर्ने र मनसुन प्रवेश गर्दछ । नेपालमा न्यून चापीय क्षेत्रको प्रभावले वर्षा गराउने गर्छ । न्यून चापीय क्षेत्र (लोवर प्रेसर एरिया) भनेको हावाको तह पातलो भएको ठाउँ वा क्षेत्र हो । यस किसिमको हावा पातलो भएको ठाउँतिर बाहिरबाट आएको हावा जान्छ । त्यहाँ त्यो हावाले आफूसँगै ल्याएको वाफ चिसो बनाउँछ, बादल उत्पन्न गर्छ र पानी पार्छ । न्यून चापीय क्षेत्र जता हुन्छ मनसुनी हावा त्यतै तिर जाने र पानी पर्ने सम्भावना बढेर जाने गर्दछ ।

नेपाल लगायत दक्षिणपूर्वी एसिया मनसुनको भरमा निर्भर रहेको पाइन्छ । खासगरी कृषिका लागि मनसुन आवश्यक हुन्छ । नेपालको अधिकांश भेगमा कृषिमा निर्भर हुनका लागि र खाद्यबाली लगाउनका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । त्यसैले पनि मनसुनी वर्षा कृषि क्षेत्रको लागि आवश्यकता छ । विशेषगरी धान र चिया खेती, जम्मा गरेर राखेको पानीबाट उत्पादन हुने बिजुलीलगायतमा मनसुनी वर्षा आवश्यक छ ।

यो मनसुनमा १८ लाख मानिस प्रभावित हुन सक्ने अनुमान
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो पटकको मनसुनमा करिव १८ लाख बढी नागरिक प्रभावित हुन सक्ने अनुमान गरेको छ । मौसमी प्रणालीमा आएको फेरबदलको आँकलन गरेर प्राधिकरणले सो प्रक्षेपण गरेको हो ।

प्राधिकरणको विवरणअनुसार बढी पानी पर्ने अनुमान यो मनसुनमा गरिएको छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले कूल ४ लाख १२ हजार घरघुरीका १८ लाख एक हजारभन्दा बढी मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको जानकारी दिए । उनका अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने र १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अवस्था आउने आँकलन गरिएको छ ।

प्राधिकरणले हरेक वर्ष मनसुन अवधिभर कति मानिस प्रभावित हुन्छन् भनेर आँकलन गर्ने गरेको छ । गत वर्षको आँकलनमा १२ लाख मानिस प्रभावित हुन्छन् भनेर अनुमान गरेको थियो भने त्यसभन्दा अघिल्लो वर्ष करिब २० लाख मानिस प्रभावि हुने आँकलन थियो । जल तथा मौसम विज्ञान विभागले यसपाली सरदर भन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहने आँकलन सार्वजनिक गरिसकेको छ । सोही अनुसार यसपाली बढी जोखिम हुने भएकाले सबै निकायलाई आवश्यक तयारीमा लाग्न निर्देशन गरिसकिएको पनि उनले बताए ।