• फाल्गुन २८ २०८२, बिहीबार

अब बन्ने सरकार ७६ (२) अनुसार नै बन्छ : नेता शेखर कोइराला

असार २५ २०८१, मंगलवार

काठामाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने बताएका छन् ।संविधानको कुन धाराअनुसार सरकार बन्छ भन्ने अलमलमा नपर्न पनि उनले आग्रह गरे ।

‘मिडियाहरूमा आइरहेको छ, संविधानको धारा ७६ को २ अनुसार सरकार हुन्छ कि ३ अनुसार भन्ने । म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु– यसमा अलमल हुने काम छैन, अब बन्ने सरकार ७६ (२) कै सरकार हुन्छ ।

यहाँ धेरै मिडियाहरूले मजा लागेको वा के हो मैले बुझ्न सकेको छैन, तर अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसारकै हुन्छ भन्ने कुरा तपाईंहरूको माझमा राख्न चाहन्छु,’ काठमाडौंको जोरपाटीमा मंगलबार भएको खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रममा कोइरालाले भने ।

संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दलहरू मिलेर सरकार बन्ने व्यवस्था छ भने उपधारा ३ मा संसदको ठूलो दलको संसदीय दल नेताको नेतृत्वमा सरकार बन्ने व्यवस्था छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दल नेकपा (माओवादी केन्द्र) का सांसदहरूले ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका दाहालले संसदबाट विश्वास मत प्राप्त गर्न नसके उपधारा ३ अनुसार सरकार गठन हुने दाबी गरिरहेका छन् ।

तर सर्वोच्च अदालतका नजिरले सम्भव भएसम्म उपधारा २ अनुसार सरकार बनाउन बाधा नपुग्ने भनिसकेको छ । कोइरालाले आफूले धारा ७६ (३) को सरकार नखोजेको पनि बताएका छन् । आफूले बोलेका कुराहरूलाई बङ्ग्याइएको दाबी उनको थियो ।

‘मैले अस्ति केही कुरा गरेको थिएँ । त्यसलाई बङ्ग्याएर शेखर त ७६ (३) को सरकार खोजिराखेको हो कि भन्ने आभास तपाईंहरूलाई पनि भयो,’ उनले भने, ‘मैले सात र आठ महिनादेखि भनिरहेको थिएँ, स्थिरता दिनुपर्छ ।

तर कसैले विश्वास गरिरहेको थिएन । कांग्रेस र एमालेले ७६ को २ अनुसारकै सरकारमा जान्छ र राजनीतिक स्थायित्व दिन्छ, सँगसँगै सुशासन र संविधानमा भएका कमीकमजोरीलाई सुधारेर अघि बढ्छौं ।’

नेपाली कांग्रेस र नेकपा (एमाले) बीच आलोपालो सरकारको नेतृत्व गरेर जाने सहमति बनेको पनि उनले बताए । कांग्रेससहित दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्गप्रशस्त गरिदिन भने पनि संविधानअनुसार नै असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको उनको भनाइ छ ।

कांग्रेसले संसदीय दल बैठकबाट दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । कांग्रेस र एमालेबीच गत असार १७ गते नयाँ समीकरण बनाउँदै सरकार गठनलगायत विभिन्न विषयमा सहमति भएको थियो ।