• मंसिर १२ २०८१, बुधबार

मोरङमा दुई समूहबीच झडप, छुरा प्रहारबाट एक जनाको मृत्यु, दुई जना घाइते

असार २६ २०८१, मंगलवार

काठमाडौं । मोरङमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति साढे १० बजेतिर विराटनगर महानगरपालिका वडा नम्बर २ नेपाल टेलिकम नजिकै दुई समूहबीच झडप भएको थियो ।

झडपको क्रममा छुरा प्रहार हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार छुरा प्रहारबाट तीनै जना घाइते थिए । उद्धार गरी सुरूमा उनीहरूलाई कोशी अस्पताल लगिएको थियो ।

त्यहाँ कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरका अन्दाजी २१ वर्षीय करण सहनीको मृत्यु भएको हो । घाइते रहेका अमर राय र विक्रम मण्डलको थप उपचारको लागि नोबेल अस्पतालमा रिफर गरिएको छ ।

प्रहरीले अहिलेसम्म यस घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको छ । उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । ‘चार जनालाई नियन्त्रणमा लिएर भेरिफाइ गर्ने काम भइरहेको छ,’ एसपी कार्कीले भने ।