• आश्विन २० २०८१, आईतवार

अल्पमतमा परेका  प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन सांसद गैरे आग्रह 

असार २५ २०८१, सोमबार

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुर गैरेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको मार्गप्रशस्त गर्नुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले विपद्मा सरकार रमिता हेरेर बसिरहेको आरोप लगाए ।

‘रोम जलिरहेको अवस्थामा राजाले बाँसुरी बजाएर बसेको’ कथनजस्तै ‘घोर’ अल्पमतमा परेको प्रचण्ड सरकारले पनि बाँसुरी बजाइरहेको उनले टिप्पणी गरे । ‘सरकार यस्तो पनि हुँदो रै’छ कहिले कहिले, गीत गाएर बसेको छ । बरु, ‘उडायो सबै सपना हुरीले गीत गाएको भए हुने नि !,’ उनले भने ।

सांसद गैरेले आफू अल्पमतमा परेको थाहा हुँदाहुँदै प्रधानमन्त्री प्रचण्ड ‘धारापानी र संविधानमा प्वाल खोज्दै हिँडेको’ आरोप लगाए । प्रधानमन्त्रीले ‘अस्थिरता, बेथिति र विभाजनतर्फ देशलाई लैजान प्रयत्न गर्दै सदनमा पनि सोहीअनुरूप तर्क–वितर्क भइरहेको’ उनले उल्लेख गरे ।

‘लोकतान्त्रिक शासनमा सरकार अल्पमतमा परेपछि, बहुमत गुमाएपछि कुनै धारा उपधारा खोज्नु पर्दैन, नैतिक रूपमा सरकार एक मिनेट हैन, सेकेन्ड पनि बस्ने नैतिक आधार रहँदैन,’ उनले भने, ‘तत्काल नयाँ सरकार बनाउन सहज बनाउन अनुरोध गर्दछु ।’