• मंसिर १२ २०८१, बुधबार

नागरिकता सिफारिसका लागि घुस लिएको पत्रकार धमलाको आरोप गलत हो : हर्क सामपाङ

असार २४ २०८१, आईतवार

असार २३, काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले सञ्चारकर्मी संजिता धमलासँगको विवादबारे प्रस्टीकरण दिएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो कार्यकक्षमा आई धमलाले अभद्र व्यवहार गरेको प्रत्यारोप गरेका छन् ।
साथै वाक् स्वतन्त्रताका नाममा बिनाप्रमाण निर्वाचित जनप्रतिनिधिलाई आरोप लगाउन नपाइने र कसैले यस्तो गरेमा एकजुट हुन सबैलाई उनले आव्हान पनि गरेका छन् ।

कार्यकक्षमा प्रहरी बोलाएर लछारपछार गरी सञ्चारकर्मी धमलालाई बाहिर निकालिएको विषयमा भने उनले केही बोलेका छैनन् । प्रमाण लिएर आउन चुनौती दिएका उनले धमलालाई गत शुक्रबार नेपाल प्रहरी र नगर प्रहरी बोलाएर लछारपछार गर्दै कार्यकक्षबाट बाहिर निकालेका थिए ।

असार १९ गते धरान–७ स्थित सिद्धीनेवा परिषदको भवनमा सुनसरी प्रहरी कार्यालयको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सञ्चारकर्मी धमलाले धरानका जनप्रतिनिधिहरूले नागरिकता सिफारिसका लागि मोटो रकम घुस लिने गरेको आरोप लगाएकी थिइन् ।

मेयर राईका अनसार धमलाले धरानमा पहाडबाट आउने महिलाहरूले यौनधन्दा गर्ने गरेको आरोप पनि लगाएकी थिइन् । त्यो कार्यक्रमको आफू प्रमुख अतिथि भएकाले प्रमाणसहित आए दोषीमाथि कडा कानुनी कारबाहीका लागि सिफारिस गर्ने वचन दिएको प्रमुख राईले बताएका छन् । नागरिकको वाक स्वतन्त्रताको नाममा धरानका सम्पूर्ण

जनप्रतिनिधिहरूको मानहानी हुने गरी नागरिकता बेचबिखन जस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको विषयमा जिल्लाका सुरक्षा सम्बन्धी उच्च पदमा रहेका व्यक्तिहरूकै सामुन्ने बिनाप्रमाणका आक्षेप धमलाले लगाएको राईले विज्ञप्तिमा लेखेका छन् ।

निर्वाचित जनप्रतिनिधिलाई बिनाप्रमाण आरोप लगाउने व्यक्ति र अभिव्यक्ति, पात्र र प्रवृतिविरुद्ध एकजुट हुन उनले सबैलाई आव्हान पनि गरेका छन् ।