• असार २५ २०८१, सोमबार

सुप्रिम सहकारीबाट जीवी राईलाई ६३ करोड र रवि लामिछानेलाई ११ करोड रकम दिएको खुलासा

असार २२ २०८१, शुक्रबार

काठमाडौं । सुप्रिम सहकारीबाट ६३ करोड बढी रकम जिबी राई आबद्ध रहेको कम्पनीमा प्रवाह भएको जानकारी दिइएको छ । सहकारी सम्बन्धी संसदीय समितिको शुक्रबार बसेको बैठकमा प्रहरी अधिकारीहरूले उक्त कुरा पुष्टि गरेका हुन् ।
समितिका संयोजक सूर्य थापाले जिबी राई आबद्ध कम्पनीमा सुप्रिम सहकारीबाट करिब ६३ करोड रकम प्रवाह भएको बताए । त्यसमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको गोरखा मिडियामा मात्रै १० करोड ९९ लाख रकम प्रवाह भएको उनले बताए ।

त्यस्तै प्रहरी अधिकारीहरूले देशभरि ५५ हजार ४१० जनाले ५०३ वटा सहकारीसम्बन्धी उजुरी दर्ता गरेको बताएका थिए । तीमध्ये हालसम्म ९८ उजुरीमा अनुसन्धान सकेर मुद्दा चलाइएको छ । अधिकांश उजुरी काठमाडौंमै दर्ता भएका छन् । काठमाडौंमा मात्रै ४० हजार बढीले उजुरी दिएका छन् ।

संयोजक थापाका अनुसार प्रहरीले ११५० प्रतिवादीमध्ये २९४ जनालाई पक्राउ गरेको छ । ८५६ जना अझै फरार छन् । फरार रहेका कतिपय प्रतिवादी विदेशमा रहेकाले रेडकर्नर नोटिससमेत जारी गरिएको प्रहरी अधिकारीहरूले बताएका थिए । जिबी र राई र देवकुमार नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको संयोजक थापाको भनाइ छ ।

प्रहरी उजुरी भएको ठगी मुद्दा ११ अर्ब ६६ करोड ४७ लाख बिगो बराबर रहेको प्रहरी अधिकारीहरूले बताएका थिए । सहकारी सम्बन्धी संसदीय समितिले शुक्रबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, केन्द्रीय अनुसन्धान व्युरोका प्रमुख श्यामलाल ज्ञवाली र अपराध अनुसन्धान विभाग प्रमुख टेकबहादुर तामाङसँग छलफल गरेको हो ।