• असार २५ २०८१, सोमबार

वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउँछौँः मन्त्री अर्याल

असार २२ २०८१, शुक्रबार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता जनाएका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले मन्त्रालयले विदेश जाने श्रमिकहरू नठगिने र म्यानपावर व्यवसायीहरूले पनि वैध रूपमा मात्रै रकम लिन पाउने गरी अध्ययन भइरहेको र छिट्टै कार्यविधि बनाउने बताएका हुन् ।

मन्त्री अर्यालले नेपालमा गैरबैंकिङ च्यानलबाट हरेक वर्ष दुई खर्ब एक अर्ब ६० करोड रुपैयाँ म्यानपावर व्यवसायीहरूले उठाइरहेको तथ्यांक आफूले पाएको भन्दै अहिले अध्ययन गरी व्यवस्थित गराउने तयारीमा आफू रहेको बताए ।

मन्त्री अर्यालले विदेश जाँदा सीप तालिम सिकेर जान आवश्यक रहेको र सरकार सोही दिशामा अग्रसर रहेको पनि बताए । उनले अर्यालले श्रमिकहरूलाई विदेशमा गएर पनि मर्यादित काम र उचित पारिश्रमिकको व्यवस्था मिलाउने गरी व्यवस्थित गरिने बताए ।