• असार २५ २०८१, सोमबार

कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँः अर्थमन्त्री पुन

असार २२ २०८१, शुक्रबार

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले आगामी वर्षको बजेटमार्फत कृषि उत्पादनलाई नीतिगत रूपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताए ।

सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्ने पुनले विश्वास व्यक्त गरे । सरकारले २०८१–२०९१ लाई कृषि दशक घोषणा गरेको उल्लेख गर्दै राजनीतिक नेतृत्व र मन्त्रीहरू फेरिए पनि नीति नफेरिने उनको भनाइ छ ।

‘कृषि उत्पादनलाई नीतिगत रूपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको छ । यसले हाम्रो आफ्नो कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्छ,’ अर्थमन्त्री पुनले भने, ‘कृषक र उद्यमी साथीहरूलाई यसले संरक्षण गर्छ, प्रतिस्पर्धी बनाउँछ ।’

नीतिगत स्थायित्व भए मात्रै देश विकास हुने अर्थमन्त्री पुनले बताए । चालु आर्थिक वर्षमा कृषि उत्पादनहरूमा भ्याट लगाइएको भए पनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको उनले बताए ।

‘हामीले २०८१–२०९१ लाई कृषि दशक घोषणा गरेका छौँ । धेरै तिरको छलफल, बहस र अन्तरक्रियापछि घोषणा गरेका हौँ । राजनीतिक नेतृत्व फेरिराख्छ, हाम्रो मन्त्रीहरू फेरिन सक्छन्, हाम्रा नीतिहरू फेरिनु हुँदैन,’ उनले भने, ‘नीतिगत स्थायित्व हुनुपर्छ । कृषि दशकको घोषणा र त्यतातिर प्राथमिकता दिएका छौँ । यसमा केही सरकारको जोड छ ।’

नेपालले आईटी क्षेत्रमा विश्वसँग प्रतिष्पर्धा गर्न सक्ने बताए । पर्यटन, जलविद्युत् क्षेत्रमा विश्वसँग प्रतिष्पर्धा गरिरहेको उनको भनाइ छ । पर्यटन क्षेत्रमा यस वर्ष मात्रै २१ प्रतिशतको ग्रोथ रेट रहेको उनले जानकारी दिए । अन्य सबै क्षेत्रमा शिथिलता भएको अवस्थामा पनि पर्यटनमा २१ र जलविद्युत् क्षेत्रमा १९ प्रतिशतको वृद्धि रहेको रहेको उनको भनाइ छ ।