• असार २५ २०८१, सोमबार

नाक बन्द भइरहन्छ?यस्ता छन् कारण

असार २२ २०८१, शुक्रबार

नाक बन्द भइरहनुका कारण

१. नाकको हड्डी बाङ्गो

नाकको दुई वटा प्वाललाई छुट्याउने एउटा पर्खाल हुन्छ, जो कुरकुरे हड्डीले बनेको हुन्छ । बाहिरबाट झट्ट हेर्दा सामान्य देखिएपनि यो खासमा भने बाङ्गोटिङ्गो हुन्छ । यसलाई मेडिकल भाषामा डिभिएटेड नेजल सेप्टम (डिएनएस) भनिन्छ ।

यस्तो समस्या हुनुमा ९० प्रतिशत कारण जन्मजात नै हुन्छ । जस्तो, उल्टो बच्चा जन्मिदा (टाउकोबाट नभई खुट्टातर्फबाट), जन्मदाँ शिशुको नाक थिचिएमा पनि यस्तो हुनसक्छ । त्यसैगरी पछि नाकमा चोटपटक लागेर नाकको हड्डी बाङ्गो हुनसक्छ ।

२. नाकभित्र मासु पलाउने (न्याजल पोलिप)

नाकभित्र मासु पलाएर पनि नाक बन्द भइरहने समस्या हुन्छ । यसलाई सामान्य भाषामा पिनास भनिन्छ । पिनास पनि दुई किसिमको हुन्छ । एउटा मासु पलाएर हुने र अर्को सामान्य कारणले ।

मासु पलाएर हुने पिनासलाई न्याजलपपोलिप भनिन्छ । नाकभित्र मासु पलाएको हो वा होइन भनेर इन्डोस्कोपी गरेर हेर्नुपर्ने हुन्छ । यदि मासु पलाएको छ भने उपचार गर्नुपर्छ ।

३. नाकको क्यान्सर

नाकभित्रको क्यान्सर भएमा पनि सास फेर्न कठिन हुन्छ । खासगरी साइनर नेजलमा क्यान्सरको जोखिम हुन्छ ।

यदि नाकको क्यान्सर भएको छ भने बारम्बार नाक बन्द हुने, नाकबाट रगत आउने, अनुहारको आकृतिमा परिवर्तन हुने, आँखा बाहिर निस्कने, मुखभित्रको तालु तल झरेको जस्तो हुने लक्षण देखिन्छ । अहिलेसम्मको घटनालाई हेर्दा प्राय यस्तो क्यान्सर ५० बर्षदेखि माथिको उमेर समूहमा बढी देखिएको छ ।

४. एडिनोइडमा समस्या

एडिनोइड नाक भित्रको पछाडि भागमा हुने तन्तुको समूह हो । मान्छेको उमेर बढ्दै जाँदा यसको आकार पनि घट्दै जानुपर्ने हुन्छ । तर, कतिपय अवस्थामा त्यस्तो हुँदैन । त्यस अवस्थामा बारम्बार नाक बन्द भइरहने हुन्छ । सुत्दा घुर्ने, सास फेर्न नसकेर सुतेको अवस्थामा अचानक ब्युँझने हुनसक्छ ।

-डा.ओमप्रसाद यादव (नाक, कान तथा घाँटीका सिनियर शल्यचिकित्सक)