• असार २५ २०८१, सोमबार

८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्ने हर्क साम्पाङको घोषणा

असार २२ २०८१, शुक्रबार

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले यही वर्षभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्ने बताएका छन् । उनले आफूहरूले बनाउने नयाँ शक्तिलाई मन परे साथ दिन पनि आह्वान गरेका छन् ।

‘८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौँ ! मन परे साथ दिएर जोडिनु होला,’ साम्पाङले गए राति फेसबुकमा लेखेका छन् । धरान उपमहानगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएपछि साम्पाङको चर्चा चुलिएको थियो । विभिन्न समयमा चर्चा र विवादमा उत्तिकै पर्दै आएका साम्पाङले धरानमा श्रम अभियान चलाउँदै आएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएर नै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका बालेन्द्र शाह (बालेन) सँग उनको निकटता रहेको समय–समयमा देखिँदै आएको छ । पछिल्लो समय बालेनले पनि राजनीतिक दल बनाउने चर्चा भइरहेको छ ।

यस्तो अवस्थामा साम्पाङले नयाँ राजनीतिक शक्ति बनाउने घोषणा गरेका हुन् । साम्पाङको यो घोषणामा बालेनको कस्तो प्रतिक्रिया रहन्छ त्यो भने हेर्न बाँकी छ ।