• असार २४ २०८१, आईतवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरालाई राजीनामा दिन एमालेको आग्रह

असार २१ २०८१, बिहीबार

दाङ । एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ । बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले लुम्बिनीका प्रमुख सचेतक तुलसी चौधरीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।
चौधरीले संघीय सरकारमा एमालेका मन्त्रीहरूले राजीनामा दिइसकेको अवस्थामा लुम्बिनीमा पनि एमालेले समर्थन फिर्ता लिने तयारी गरिरहेकाले आफैले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको बताए ।

एमालेले समर्थन फिर्ता लिने तयारी गरिरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति मुख्यमन्त्री महराले राजीनामा दिए उपयुक्त हुने चौधरीले बताए ।

‘हामीले समर्थन फिर्ता लिएर छोड्नु भन्दा आफैले राजीनामा दिएर मार्ग प्रशस्त गर्दा तपाईंको उचाइ पनि बढ्छ, राजनीति अहिलेलाई मात्र होइन धेरै लामो राजनीतिक यात्रा गर्नु छ भनेर मैले सुझाव दिएँ,’ चौधरीले भने ।
चौधरीले गठबन्धनको यात्रा सधैको लागि टुंगिएको भनेर नसोच्न पनि आग्रह गरेको बताए ।

‘अहिलेको लागि गठबन्धनको सहयात्रा टुंगिए पनि सधैँको लागि टुंगिएको होइन भनेर पनि मुख्यमन्त्रीलाई भनेको छु,’ चौधरीले भने । मुख्यमन्त्री महराले भने असार २४ गतेसम्मलाई समय दिन आग्रह गरेको चौधरीले भने ।