• असार २४ २०८१, आईतवार

प्रचण्डसँगै बागमतीका जम्मकट्टेलको सरकार पनि अल्पमतमा पर्ने संकेत

असार २१ २०८१, बिहीबार

मकवानपुर । केन्द्रीय तहमा सत्ता समीकरण परिवर्तनसँगै बागमती प्रदेश सरकारमाथि पनि सङ्कट देखिएको छ । केन्द्रीय तहमा एमाले–कांग्रेस गठबन्धन निश्चित बनेसँगै नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकार सङ्कटमा परेको हो ।

एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्र र हाम्रो नेपाली पार्टीको गठबन्धनबाट सरकारको नेतृत्व सम्हाल्दै आएका जम्कट्टेल नयाँ समीकरण निर्माण भएसँगै अल्पमतमा परेका छन् । नयाँ सत्ता समीकरणमा बागमती प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति बनेको छ ।

केन्द्रमा नयाँ गठबन्धन र सरकार बनेपछि प्रदेशमा समेत त्यसको प्रभाव पर्दै आएको छ । सत्ता समीकरण परिवर्तनसँगै जम्कट्टेलले ०७९ माघ ३ गते पहिलो पटक विश्वासको मत लिएका थिए भने एमालेले सरकार छाडेपछि चैत १० मा दोस्रोपटक र कांग्रेसले सरकार छोडेपछि ०८० चैत १९ मा तेस्रोपटक विश्वासको मत लिएर सरकार टिकाए ।

सत्ता समीकरण परिवर्तनपछि कांग्रेस र एमाले सम्मिलित सरकार बनेपछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको माओवादी केन्द्र प्रतिपक्षमा पुग्ने निश्चित भएको छ । यद्यपि, अहिलेसम्म प्रदेश सरकार परिवर्तनका विषयमा प्रदेशमा नेतृत्व गर्ने दलहरूले कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरू केन्द्रमा हुने घटनाक्रमका आधारमा प्रदेशमा पनि गतिविधि बढाउने तयारीमा छन् । जसका कारण मुख्यमन्त्री जम्कट्टेललाई केही राहत मिल्ने देखिन्छ ।