• असार २३ २०८१, शनिबार

कसरी नाटकीय रुपमा एकै ठाउँमा उभिए कांगेस र एमाले ?

असार २० २०८१, बुधबार

काठमाडौं । सरकार गठनमा हुने जोड घटाउले जुन सुकैबेला पनि सरकार ढल्ने र नयाँ बन्ने क्रम नयाँ होइन । तर पछिल्लो समय गत सोमबार संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले सत्ता सहकार्यका लागि एकै ठाउँमा उभिए जसले नेपाली राजनीतिमा तरंग ल्याइदियो । यि दुई दल आफैमा एक अर्कोमा प्रतिस्पर्धी भएपनि सोमबारको राजनीतिक सहमतिले संविधान संशोधनको विषयसँगै सत्ता सहकार्यमा सहमत भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एमालेको अंक गणितको बलमा सत्ता फेरबदल गरिरहेका बेला दुई ठूला दल एकै ठाउँमा उभिएका हुन् । प्रतिनिधिसभाको निर्वाचनपछि गठबन्धन दल नेपाली कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धन गरेका प्रधानमन्त्री दाहालले गत फागुन २० गते पुनः कांग्रेसलाई छाडेर एमालेसँग सहकार्य गर्न पुगे । त्यसको ठिक एक दिनपछि प्रधानमन्त्री दाहालले आफू बाँचुन्जेल उथलपुथल हुने बताए ।

गत निर्वाचनपछि एमालेलाई दुई महिनामा छाडेका दाहालले एक वर्षपछि कांग्रेसको साथ लत्याएको दिन गत फागुन २१ मा सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘आजको दिन विशेष दिन । नयाँ उथलपुथल भएको दिन । म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ ।’ फागुन २४ गते प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक दलहरुलाई धोका दिएको बताएका थिए । कांग्रेस सचेतक रमेश लेखकले प्रचण्डप्रति व्यङ्ग गर्दै संसदमै भनेका थिए– देशमा उथलपुथल मच्चाउने प्रचण्डको गतिशिलता यही गतिमा कायम रहेमा अर्को चुनाव आउनुअघि २०८४ सम्ममा १३ पटक गठबन्धन फेरिनेछ ।

साथै सत्ता सहकार्य गरेको दल कांगेसलाइ लक्षित गर्दै उनले यो पनि भनेका थिए, ‘प्रतिक्रियावादीहरूले मलाई उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर निस्कन सक्छु ।’ प्रधानमन्त्रीको पदमा बसेको व्यक्तिले यसरी नेपाली कांग्रेसलाई प्रतिक्रियावादी, लात्ताले हानिदिन्छु जस्तो अराजनीतिक भाषा प्रयोग गर्न हुन्नथ्यो । तर, उनले प्रयोग गरे । प्रचण्डबाट धोका पाएको कांग्रेसले संसदमा पटक–पटक व्यग्य गर्दै लेखकले कुनै पनि दिन धोका पाएका दलहरु एकै ठाउँमा आएभने तपाईको हैसियत देखिने छ भनेका थिए ।

‘एक जनासँग मगनी, अर्कोसँग लगनगाँठो, तेस्रोसँग हनिमुन, चौथोसँग डेटिङ, पाँचौसँग टाप ठोक्ने काम उथलपुथल होइन । यो शोभनीय हुँदैन,’ लेखकले संसदमा प्रचण्डलाई व्यंग्य गर्दै भनेका थिए, ‘म त कुन निष्कर्षमा पुग्या छु भने अब धोका दिन कोही बाँकी रहेन । तर एकचोटी सोच्नुस् यी जम्मै धोका पाएका एक दिन एक ठाउँमा उभिए तपाईंकाविरुद्ध भने कहाँ पुग्नुहोला ? खाली ख्याल गर्नुहोला, हेक्का राख्नु होला । यति मात्र आग्रह हो ।’ चार महिनाअघि तिनै लेखकले भनेका कुरा आज प्रचण्डको जीवनमा मेल खान पुग्यो । कांग्रेस र एमाले एक ठाउँमा उभिदाँ अहिले प्रचण्ड एक्लिएका छन् ।

दुई दलबीचको सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र ओलीपछि देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ । तर, दाहालले सत्ता हस्तान्तरण भने सहज रुपमा गर्ने संकेत गरेका छैनन् । दाहालले मंगलबार बसेको नेकपा माओवादीको पदाधिकारी बैठकमा आफूले प्रधानमन्त्रीबाट राजीनामा नदिने प्रष्ट पारिसकेका छन् । संविधानको धारा १०० को उपधारा २ मा सत्तासाझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनु पर्ने व्यवस्था छ । यदि आज नेकपा एमालले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री दाहालसँग सत्तामा बस्न १ महिनाको समय हुनेछ ।

संविधानको धारा १०० को उपधारा ४ मा सरकार गठन भएको २ वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न नमिल्ने व्यवस्था छ । जसले गर्दा प्रधानमन्त्री दाहालले राजीनामा नदिए १ महिनासम्म सत्ताबाट हटाउन सकिने छैन ।

यि कारणले कांग्रेस र एमाले एक ठाउँमा उभिए

सहकारी प्रकरण
सत्ता गठबन्धन फेरिनुमा सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको विषयमा आवाज उठाउँदै आयो । तर, गृहमन्त्री लामिछानेले आफ्नो विषयलाई विषायन्त गर्दै कांगेस निकटका ४ वटा सहकारीका सञ्चालहरुलाई पक्राउ गरेको थियो । कान्तिपुर सेभिङ एण्ड क्रेडिटका पूर्वअध्यक्ष तथा पशुपति बचत तथा ऋण सहकारीका अध्यक्ष चन्द्रबहादुर तामाङ (सीबी लामा) जेठ १८ गते पक्राउ परेका छन् ।

यस्तै असार १४ गते ललितपुर महानगरपालिका–३ पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष अमरदास श्रेष्ठ, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक कदमबाबा जोशी प्रधान प्रकाउ परेका छन् ।

यस्तै असार १ गते ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेज विक्रम थापा, संस्थाकी व्यवस्थापक सजना राजकर्णिकार, सहकारीका सदस्य भीमसेन महर्जन र सहकारीका संस्थापक सदस्य सञ्जय सापकोटा पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । यस्तै स्क्वायर बचत तथा ऋण सहकारी संस्था अध्यक्ष बाशु देव मान जोशी, सहकारीका सचिव सुवर्ण सेलालिक, सहकारीका सदस्य धर्म रत्न पाछैंलाई सीआईबीले जेठ २५ गते पक्राउ गरेको हो ।

पशुपति सहकारीका लामा काग्रेसका नेता हुन् । उनी काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट प्रदेश सभामा उम्मेदवार रहेका थिए । यस्तै लालिगुँरास सहकारीका भण्डारी काँग्रेसका सहकारी विभागका पूर्व सचिव हुन् । स्क्वायर सहकारीका जोशी कांग्रेसका नेता प्रकाशमान सिंहको सचिवालयमा आबद्द छन् ।

बजेटमा एमाले अध्यक्ष ओलीको असन्तुष्टि
सत्ता गठबन्धन खटपट आउनुको अर्को कारण भनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको असन्तुष्टि पनि एक हो । आर्थिक वर्ष २०८१÷०८२ को बजेट आफूलाई नसोधी ल्याएकोमा ओलीले सार्वजनिक रुपमा असन्तुष्टि पोखेका थिए । अहिलेको यो बजेट माओवादी पार्टीको हो कि सरकारको हो, ओलीले असन्तुष्टि पोख्दै भनेका थिए, यसरी समृद्ध सरकार कसरी चल्न सक्छ । ओलीको यो भनाईले पनि प्रचण्ड नेतृत्वको सरकार धेरै समय टिक्दैन भन्ने संकेत देखिन्थ्यो ।

‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुनसक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो बढ्ता देखिन गएको छ । रकमको बाँडफाँट पनि त्यसैगरी एकतर्फी ढल्किएजस्तो देखिन्छ । यसको निर्माण प्रक्रियामा कमजोरी रहँदा गम्भिर त्रृटी भएका छन्,‘ ओलीले भनेका थिए ।

साना दलले च्याँखे थापेर मन्त्री खाने प्रवृत्तिले ठूलो दलको हैरानी
एमाले–कांग्रेस दुवै ठूला दल साना र नयाँ दलको बढ्दो संख्याबाट निरास थिए । एमालेको एउटा पंक्ति यस्तै साना दलको च्याँखे दाउ अन्त्य गर्नका लागि द्विदलीय व्यवस्थाको वकालत गर्दै आइरहेका थिए । अझ साना र नयाँ भनिएका दल एक से एक अवसरवादी र सत्ताको च्याँखे थाप्ने कामले कांग्रेस र एमाले झस्किए । नयाँ भनिएका रास्वपा, नागरिक उन्मुक्ति र जनमत पार्टी पनि उस्तै चरित्रका देखिए । न विचार न अडान, न गठबन्धन फेर्ने वा बसिरहने कुनै राजनीतिक आधार । त्यसैले पनि साना च्याँखे दाउलाई तह लगाउन पनि अहिलको गठबन्धन बनेको भन्नेहरु पनि छन् । १० प्रतिशत ल्याउनेले ९० प्रतिशतलाई शासन गर्ने पद्धती बढेपछि राजनीतिक स्थिरताका लागि पनि दुई ठूला दल मिल्नुको विकल्प नभएको भन्दै एमाले र कांग्रेसका दोस्रो तहका नेताहरुको मत थियो । जसलाई अहिले बनेको नयाँ समिकरणले रुप दिएको छ ।

शिक्षामन्त्री सुमनाको काममा असन्तुष्टि
शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा मन्त्रालयले शिक्षा शिक्षा नियमावली २०५९ मा दशौं संशोधन गर्दै विद्यालय व्यवस्थापन समितिको अधिकार कटौती गर्ने र राजनीति गर्ने शिक्षकलाई सेवाबाट हटाउने प्रस्ताव गरिएको थियो । शिक्षक संगठनमा बलियो पहुँच रहेको एमालेले त्यसको विरोध गर्यो । तर, रास्वपा र शिक्षामन्त्रीले एमालेको विरोधको कुनै वास्ता नगरेपछि सार्वजनिकरुपमै एमाले अध्यक्ष ओलीले रोष प्रकट गरेका थिए । उनले शिक्षामन्त्री सुमनाप्रति लक्षित गर्दै भनेका थिए– विदेशीसँग विवाह गरेर नेपाल घुम्न आएकी फ्याट्ट मन्त्री भइन् ।

भ्रष्टाचार काण्ड खोतलिनु
पछिल्लो समय भ्रष्टाचारका काण्डहरु एक पछि अर्को गर्दै उधिनिँदै जान थाल्यो । गृहमन्त्री रवि लामिछानेले संसदको रोष्टममा उभिएर भ्रष्टाचारका २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको छ भने । जसले कांग्रेस र एमालेको पंक्तिमा भयको वातावरण सिर्जना भयो । त्यसो त नक्कली भुटानी शरणर्थी प्रकरणमा कांगेसका प्रभावशाली नेता बालकृष्ण खाँड पक्राउले देउवापक्षलाई गाह्रो भइरहेको थियो । साथै गिरिबन्धु टी–इस्टेट जस्ता ठूला काण्डहरु खोतलिदै जादाँ भोली के हुने हो भन्ने भयका कारण पनि दुई दल कांग्रेस र एमाले एक ठाउँमा उभिने परिस्थिति बन्यो ।

प्रचण्डको पल्टुराम प्रवृत्तिले दिक्क थिए दुई दल
संसदमा तेस्रो शक्ति बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू जसरी पनि सत्तामा टिकिरहन देखाएको अवसरबादलाई चिर्न पनि कांग्रेस र एमाले एक ठाउँमा उभिए । सत्तामा टिकिरहन प्रचण्डले देखाएको ‘अवसरवाद’ र ‘पल्टुराम’ चरित्रबाट हैरानी भएका कांगेस र एमाले देखाउनका लागि भए पनि एक ठाउँमा उभिए । जसलाई नाटकीय रुपमा एक ठाउँमा ल्याउनका लागि संविधान संशोधन एउटा विषय बन्यो । साथै पछिल्लो समय त प्रचण्ड ‘जादुयी अंक’ बारे सार्वजनिक भाषण गर्न थालेपछि दुई दल कांग्रेस र एमाले तेस्रो दलले ठूलो दललाई शासन गर्ने पद्धती रोक्नका लागि एक ठाउँमा उभिन पुगे ।