• असार २३ २०८१, शनिबार

संसदीय प्रणालीले गरिब बनायो, अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाऔं : वामदेव गौतम

असार २० २०८१, बुधबार

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् ।

बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको बताएका हुन् ।

उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताए । गौतमले निर्वाचन प्रणालीका कारण राजनीतिक पार्टीहरु अल्पमतमा हुने गरेको भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गर्नुपर्ने बताए । उनले व्यक्ति नभइ पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपाल राष्ट्रलाई सधै गरिब हुन प्रेरित गर्ने हामीले अवलम्वन गरेको यो संसदीय शासन प्रणाली र निर्वाचन प्रणाली नै हो । अब साहस गरेर नेपालको संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा प्रवेश गरौँ ।’
गौतमले नेपालका सबै कृषियोग्य भूमीलाई राष्ट्रियकरण गर्नुपर्ने पनि बताए ।

गौतमले गणतन्त्रमा पनि बजेटको ढाँचा परिवर्तन नभएको भन्दै बजेटप्रति आफ्नो भन्नु केही नरहेको बताए ।