• असार २३ २०८१, शनिबार

तस्करले भित्र्याएको सुन नेपालका २२ हजार सुन व्यापारीले किनिसकेका छन् : सिआइबी

असार २० २०८१, बुधबार

काठमाडौँ । तस्करी गरी नेपाल भित्रिएको सुनको खपत विदेशीसँगै स्वदेशी बजारमा समेत हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानबाट देशभरका हजारौँ सुन व्यापारीले अवैध रूपमा नेपाल भित्रिएको सुन खरिद-बिक्री गरेको तथ्य फेला परेको हो ।

६० किलो सुन तस्करी प्रकरणमाथि गहन अनुसन्धानपछि तयार भएको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएपछि सीआईबीले यस्तो जानकारी दिएको हो । सीआईबीका प्रमुख श्यामलाल ज्ञवालीले देशभरका २२ हजार सुन व्यापारीले अवैध रूपमा आयातित सुन किनबेच गरेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए ।

‘अवैध रूपमा ल्याइएको सुन किन्ने व्यापारीको सङ्ख्या २२ हजारभन्दा बढी हुनसक्छ,’ ज्ञवालीले भने, ‘तर कम छैन ।’ ६० किलो सुन तस्करी प्रकरणमाथिको अनुसन्धानका क्रममा एउटै समूहले ३२ सय किलो सुन नेपालमा तस्करी गरेको खुलेको समेत सीआईबीले जनाएको छ ।

भारतीय र चिनियाँसहित नेपाली नागरिकको संलग्नतामा हङकङसहित विभिन्न मुलुकबाट सञ्जाल नै विस्तार गरेर त्यो समूहले सुन तस्करी गर्ने गरेको खुलेको हो ।

एउटै समूहले ५ वटा डमी कम्पनी खडा गरेर विद्युतीयसँगै विभिन्न पाइप तथा धातुजन्य वस्तुको आयात र ‘ब्रेक शु’मार्फत् खर्बौं रुपैयाँको सुन ल्याउने गरेको अनुसन्धानले देखाएको थियो । विदेशबाट ल्याइएको सुन कहाँ जान्छ भनेर अनुसन्धान गर्दा भारतीय बजारसँगै स्वदेशी बजारमै खपत हुने गरेको तथ्य भेटिएको ज्ञवाली बताउँछन् ।