• असार २१ २०८१, बिहीबार

सरकार अदल बदल बारे माधव नेपालको पार्टीले खोल्यो मुख

असार १९ २०८१, मंगलवार

काठमाडौं । कांग्रेस–एमालेबीच बनेको नयाँ गठबन्धनलाई एकीकृत समाजवादीले चरम अवसरवाद भनेको छ ।
पार्टीको दशौँ महाधिवेशन गरिरहेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सत्ता परिवर्तनका निम्ति गरिएको नयाँ गठबन्धनलाई चरम अवसरवादको संज्ञा दिएका हुन् ।

सोमबार मध्यराति दुई ठूला दल कांग्रेस र एमालेले नयाँ सत्तागठबन्धनका निम्ति सहमति गरेका थिए । त्यसपछि एकीकृत समाजवादीको यस्तो धारणा आएको हो ।

एकीकृत समाजवादी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सत्तागठबन्धनमा सहभागी छ । महाधिवेशनस्थल कमलादीबाट प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘संसद्का ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो । बहुदलीय राजनीतिको अपचलन संस्कृति हो । मुलुकलाई अस्थिरताको चक्रब्युहमा फसाउने काम हो ।’

खतिवडाले कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा भएको पनि बताएका छन् । ‘यो लोकतन्त्रका निम्ति पनि खतरा हो । प्रणालीलाई कमजोर पार्ने काम भएको छ । सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौं भन्ने कुरा हामीलाई मान्य छैन । यो अधिकार अमूक दललाई छैन,’ उनले भने ।