• असार २१ २०८१, बिहीबार

देउवाले दाहाललाई भने–‘अहिलेलाई सरी प्रचण्डजी, ओलीजीसित सहमती भइसक्यो’

असार १९ २०८१, मंगलवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग ७ बुँदे सहमति गरेका कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार बिहान पार्टी पदाधिकारीहरुसँग छलफलमा थिए ।

आफ्नै निवास बुढानीलकण्ठमा बसेको बैठकमा उनले सहमतिबारे ब्रिफिङ गरे । एमालेसँगको वार्तामा सहभागी कांग्रस नेताहरुले ७ बुँदे सहमति पढेर सुनाए ।

त्यसपछि नेताहरुले धारणा राखिरहेका थिए । त्यही बेला कांग्रेस सभापति देउवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन गरे । एक पदाधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्डले देउवालाई टेलिफोनमा के भएको हो भनी सोधेका थिए ।
बालुवाटार स्रोतका अनुसार देउवालाई फोन गर्नुअघि प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग भेटेका थिए । त्यो भेटमा ओलीले ‘देउवाजीले राष्ट्रिय सहमतिको सरकार बनाउँ भन्नुभयो, तपाईंले पनि सहयोग गर्नुर्पयो’ भनेका थिए । सहमतिबारे ओलीले प्रष्ट नबताएकाले प्रचण्डले देउवालाई फोन गरेका थिए ।

जवाफमा देउवाले ‘एमालेसँग सरकार बनाउने सम्झौता भइसक्यो, अहिलेलाई सरी’ भनेको कांग्रेसका एक नेताले बताए ।