• असार २१ २०८१, बिहीबार

नयाँ सरकार ? सबै शिर्ष राजनीतिक दलको आ-आफ्नो सचिवालय बैठक बस्दै

असार १९ २०८१, मंगलवार

काठमाडौँ । नयाँ सरकार बन्नेबारे सबै दलको चासो रहेको छ । मध्यरातमा दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ सरकार गठनका लागि सहमति भएसंगै नयाँ सरकार बन्ने कि रहनेबारे चासो चुलिएको छ ।

सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ ।

नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको छ । कांग्रेसले पनि आफ्नो पदाधिकारी बैठक बुढानिलकण्ठमा बोलाएको छ । एमाले पनि पदाधिकारी बैठक बोलाएको छ भने रास्वपाले समेत आफ्नो सचिवालय बैठक बोलाएको छ ।

नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न काँग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भइसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने कि विश्वासको मत लिने भन्नेबारेमा नै छलफल हुने बताइएको छ ।

विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्ने भएको छ ।

 आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक बिहान ८ बजे सिंहदरवारमा बस्ने रास्वपाको एक सांसदले बताए  ।

सत्ता फेरबदलको तयारीपछि रास्वपाले अबको रणनीति स्वरूप बैठक बोलाएको हो।  सत्तामा रहेको रास्वपालाई बाहिर राखेर एमाले र काँग्रेसले नयाँ सरकार बनाउने सहमति गरेका छन्।