• असार २० २०८१, बुधबार

सत्ता हिसाब किताब : अर्को मान्छे भेट्न आउँदैछ भनेर देउवा बैठकबाट सुटुक्क निस्किए

असार १८ २०८१, सोमबार

काठमाडौं । कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने गृहकार्य चलिरहेको चर्चाका बीच कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्यो ।

सोमबार अपराह्न बसेको बैठकमा नेताहरूले बजार हल्लाबारे सभापति देउवासँग जानकारी मागे । तर देउवाले यसबारे मुखै नखोलेको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।

उनका अनुसार देउवाले एमाले अध्यक्ष ओलीले चिया खान बोलाएपछि बीआरआईबारे छलफल भएको मात्रै बताए ।
‘नयाँ सत्ता समीकरणबारे केही बोल्दै बोल्नुभएन । ५ बजे अर्को कोही मान्छे भेट्न आउँदैछ भनेर बैठक छिटो सक्नतिर लाग्नुभयो । बोल्दै नबोले पनि केही तयारी हो कि जस्तो देखिन्छ । सभापतिले मुखै खोल्नुभएनु, उनले भने ।

उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे उपसभापति तथा महामन्त्री कसैलाई पनि जानकारी छैन । ‘देउवाले प्रमुख सचेतक रमेश लेखकलाई खटाए जस्तो देखिएको छ,’ उनले भने ।