• असार २० २०८१, बुधबार

रुसविरुद्ध लड्न युक्रेनलाई उचाल्ने फ्रान्सका इम्मानुयल म्याक्रोको दल पत्तासाफ

असार १८ २०८१, सोमबार

काठमाडौं । फ्रान्सको संसदीय निर्वाचनको पहिलो चरणमा घोरदक्षिणपन्थी पार्टी नेशनल रेलीले अग्रता लिएको छ । यसले फ्रान्सको राजनीतिमा नेशनल रेलीको प्रभावलाई पुष्टि गरेको छ र सत्ताको ढोकाको नजिक र्पुयाएको छ ।

प्रवासी विरोधी नेशनल रेलीका नेता मरिन ले पेनले निर्वाचन परिणामप्रति उत्साहित हुँदै वर्तमान राष्ट्रपति इम्मानुअल म्याक्रो गुट तहसनहस भएको बताएकी छन् ।

पहिलो चरणको निर्वाचनमा रेलीले ३३.२ प्रतिशत मत पाएको छ । वामपन्थी गठबन्धनले २८.१ प्रतिशत र म्याक्रोको पक्षमा २१ प्रतिशत मात्र मत प्राप्त भएको बीबीसीले जनाएको छ । यसअघि सार्वजनिक चुनावी सर्वेक्षणका नतिजाले पनि मरिन ले पेन नेतृत्वको नेशनल रेलीले सबैभन्दा धेरै सिट जित्ने देखाइएको थियो ।

फ्रान्स जस्तो ‘क्रान्तिकारी देश’ को आधुनिक कालखण्डमा दक्षिणपन्थको यो स्तरको विकासलाई धेरै राजनीतिक विश्लेषकहरू अनपेक्षित मान्छन् । नेशनल रेलीले नयाँ प्रधानमन्त्रीको रुपमा २८ वर्षीय जोर्डन बारडेलालाई अघि सारेको छ । बारडेलाले पनि समर्थकहरुलाई सम्बोधन गर्दै फ्रान्सेली जनताको साथ पाए आफू प्रधानमन्त्री बन्ने बताएका छन् । फ्रान्समा आइतबार पहिलो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदान ७ जुलाईमा हुनेछ ।

फ्रान्समा ५७७ सिटको नेशनल एसेम्बलीमा बहुमत हासिल गर्न २८९ सिट चाहिन्छ । फ्रान्सको निर्वाचनमा घोर दक्षिणपन्थी पार्टी नेशनल रेलीले पहिलो चरणको निर्वाचन हालसम्म जितेको छैन । यद्यपि दोस्रो चरणको निर्वाचनबाट रेली सबैभन्दा ठूलो दल बन्ने निश्चित जस्तो देखिएको बीबीसीले जनाएको छ । यदि कसैको बहुमत नपाए फ्रान्समा त्रिशंकु सरकार बन्ने सम्भावना हुन्छ ।
फ्रान्समा नेशनल रेलीको प्रभाव बढेमा युरोपेली संघ, आप्रवासी सम्बन्धी नीति र रुस–युक्रेन युद्धलाई हेर्ने नजर लगायतका विषयमा प्रभाव पार्ने भएकाले चुनावको अन्तिम परिणामलाई चासोका साथ हेरिएको छ ।

युरोपेली युनियनको निर्वाचनमा ले पेन नेतृत्वको अति दक्षिणपन्थी दल भनेर चिनिने नेशनल रेलीले म्याक्रोको मध्यमार्गी गठबन्धनलाई परास्त गरेलगत्तै म्याक्रोले निर्वाचन मिति घोषणा गरेका थिए ।

आफ्नो दोस्रो कार्यकाल पूरा हुन दुई वर्ष बाँकी छँदै राष्ट्रपति म्याक्रोले अप्रत्यासित रुपमा चुनावको मिति घोषणा गरेका थिए । ले पेन यसअघि दुई पटकसम्म म्याक्रोसँग प्रतिस्पर्धा गरे पनि पराजित भएकी थिइन् ।