• मंसिर १२ २०८१, बुधबार

प्रहरी असई थमन विकको हत्यामा संलग्न मधेसका पूर्वसांसद कौशल यादव पक्राउ

असार १७ २०८१, आईतवार

काठमाडौं । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा प्रहरीले मधेस प्रदेशका पूर्वसांसद कौशलकुमार यादवलाई पक्राउ गरेको छ ।

घटना भएको ८ वर्षपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले यादवलाई पक्राउ गरी आइतबार जिल्ला अदालतमा उपस्थित गराएको डिएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

उनी महोत्तरी क्षेत्र नम्बर ४ (१) बाट मधेस प्रदेश सभा सदस्य बनेका थिए। उनीमाथि २०७२ साल भदौ २५ गते असई विकको हत्या भएको थियो ।

शनिबार राति सवा १० बजेतिर सम्सी गाउँपालिका वडा नम्बर ५ स्थित हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको डिएल ३ सिएवाई ८६१५ नम्बरको स्कार्पियो गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २९०२९००१ च ००४५ नम्बरको महेन्द्र पिकअप गाडीले ठक्कर दिएको थियो ।

ठक्कर दिएर उक्त पिकअप गाडी फरार भएको भन्ने सूचना प्रहरीले पाएको थियो । उक्त सूचनापछि खटिएको प्रहरीको ठोलीले स्कार्पियो गाडीमा सवार चालकसहित तीन जना घाइतेलाई उपचारका लागि मेडिकलमा पठाएको थियो ।

ठक्कर दिने गाडीको खोजी गर्दा उक्त गाडीमा यादव सवार रहेको खुलेको हो। जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार उनले मापसे गरी सवारी चलाएका थिए ।

प्रहरीले दुर्घटना गराएर भागेका व्यक्तिलाई खोजी गर्ने व्यक्तिको खोजी गर्दा हत्या आरोपमा फरार समेत रहेका यादवलाई पक्राउ गरेको हो । थमन विकको हत्याको अनुसन्धान गरी प्रहरीले २८ जनाविरूद्ध २०७५ साउन २८ गते कर्तव्यज्यान मुद्दामा दर्ता भएको थियो ।

त्यस घटनामा पूर्वसांसद यादव फरार प्रतिवादी कायम गरिएको थियो । यस कसुरमा सर्वोच्च अदालतले सात जनालाई जन्मकैद सजाय सुनाएको थियो । एमाले सांसद लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका थिए ।