काठमाडौं । अखिल नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समितिले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको सयौं जन्मदिनको अवसरमा एक स्वेत पत्र जारी गर्दै पुष्पलालले संयुक्त जनआन्दोलनको नीति नलिएको भए आज देशमा गणतन्त्र स्थापना हुन निकै कठिन हुने बताएको छ ।
सो संगठनका संयोजक नारायण शर्माद्वारा जारी स्वेतपत्रमा यस्तो कुरा बताइएको छ । स्वेतपत्रमा शर्माले पुष्पलालले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु उठाई सान्तवाद र साम्राज्यवादका विरुद्ध किसान, मजदुर, विद्यार्थी, बुद्धिजीवी आदिका आन्दोलनहरुद्वारा क्रान्तिको आँधिबेहरी ल्याउनको लागि इमान्दार कोसिस गरेको स्मरण गरेका छन् ।
प्रस्तुत छ शर्माले जारी गरेको स्वेतपत्र जस्ताको तस्तै :
पुष्पलाल जन्मशताब्दीका सन्दर्भमा जारी श्वेतपत्र !
२०८१ असार १५ नेपालमा कम्युनिस्ट पार्टी, कम्युनिस्ट आन्दोलनका संस्थापक र संचालक श्रद्धेय नेता कमरेड पुष्पलालको सयौं जन्मदिवस हो । यस ऐतिहासिक दिवसका सन्दर्भमा अखिल नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समिति सर्वप्रथम कमरेड पुष्पलाल र उहाँका क्रान्तिकारी विचार, वस्तुवादी राजनीति, सर्वहारावादी भावना र निस्वार्थ कर्मप्रति हार्दिक स्मरण, भावपूर्ण श्रद्धार्पण र क्रान्तिकारी अभिवादन व्यक्त गर्दछ । साथै पुष्पलाल लगायतका क्रान्तिकारी योद्धाहरुले स्थापना र विकास गरेको नेपाल कम्युनिस्ट पार्टी र आन्दोलनको संचालनका क्रमका सम्पूर्ण सहिद, बेपत्ता, घाइते, योद्धा आदि सबैप्रति यथोचित श्रद्धासहित सलामी अर्पण गर्न चाहन्छ । साथै यस ऐतिहासिक दिवसका अवसरमा संयोजन समितिले प्रस्तुत राजनीतिक श्वेतपत्र जारी गर्नु आफ्नो कर्तब्य ठान्दछ ।
पुष्पलालले रोपेको नेपाली कम्युनिस्ट क्रान्तिकारी बिऊ टुसाउँदै गर्दादेखि नै उहाँ र उहाँले रोपेको यो विरुवामाथि देश र विदेशबाट, देब्रे र दाहिनेतिरबाट र भित्री र बाहिरी रुपमा दक्षिणपन्थी र उग्रपन्थी हमलाहरु सुरु भए । आफ्नो सही वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक यात्राको क्रममा उहाँ र उहाँको क्रान्तिकारी टिमले ती हमलाहरुको समय र परिस्थिति अनुसार कहिले सुषुप्त त कहिले सशक्तरुपले प्रतिवाद गर्दै कम्युनिस्ट पार्टी र आन्दोलनको सच्चा मालेमावादी क्रान्तिकारी धारालाई बचाउन अथक संघर्ष गर्नुभयो । यसक्रममा २०२५ सालको ऐतिहासिक गोरखपुर सम्मेलनबाट नेपाली क्रान्तिको वैचारिक दिशामा माओविचारधारा र राजनीतिक कार्यदिशाको रुपमा नयाँजनवादी क्रान्तिलाई ठहर गर्नुभयो । यसरी उहाँले यसअघि र पछिसम्म पनि नेपाल र नेपाली जनताका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु उठाई सान्तवाद र साम्राज्यवादका विरुद्ध किसान, मजदुर, विद्यार्थी, बुद्धिजीवी आदिका आन्दोलनहरुद्वारा क्रान्तिको आँधिबेहरी ल्याउनको लागि इमान्दार कोसिस गर्नुभयो ।
यद्यपि उहाँ जीवित रहँदासम्म उहाँका विचार खासगरी संयुक्त जनआन्दोलनको कार्यनीति अनुसार मुख्य दुश्मन शक्तिका विरुद्धका सम्पूर्ण शक्तिहरु मिलेर मुख्य दुश्मनमाथि प्रहार गर्न कुनै पनि राजनीतिक पार्टी र स्थापित नेताहरु तयार भएनन् । उहाँको निधनपश्चात् मात्र उहाँकै विचार अनुसार देश र जनताको प्रमुख दुश्मनका विरुद्ध वामपन्थी कम्युनिस्ट शक्तिहरु र प्रजातान्त्रिक र लोकतान्त्रिक शक्तिहरु आपसमा मोर्चा र सहमति कायम गरेर २०४६ र २०६२-६३ सालमा संयुक्त आन्दोलनमा उत्रिए । फलस्वरुप देशमा सीमित पुँजीवादी अधिकारसहितको संसदीय व्यवस्थाहुँदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ । उल्लेखनीय छ कि पुष्पलालको यो विचार र संयुक्त जनआन्दोलनको यो बाटो नपकडेको भए हाल यो बुर्जुवा गणतन्त्र पनि देशमा आउन कठिन थियो । यो कुरा बेग्लै हो कि दल र तिनका मुख्य नेताहरुको लाछी, लाचार र दलाल चिन्तनप्रवृत्तिका कारण यो बुर्जुवा गणतन्त्र पनि आफ्नो शास्त्रीय स्वरुपको प्रगतिशील र राष्ट्रिय चरित्रको नभएर पूर्णतः नवउदारवादी दलाल चरित्रको छ । त्यसैले पनि गणतन्त्र आएपनि वैदेशिक हस्तक्षेप र शोषण–दमनको सिकन्जामा फस्दै र कसिँदै गएको छ भने जनता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार अनि न्याय, सम्मान र सुरक्षाको अभावमा छट्पटिइरहेका छन् । पुँजीवादी संसदीय व्यवस्थाका कारण चुनाव, चुनावी पद र राजनीतिक–कूटनीतिक पदहरु पनि पुँजी र पावरमा खरिदबिक्री भएका छन् । फलतः कथित ठुला पार्टी र नेता–शासकहरुको कुमति, कुनीति, कुनियत र कुशासनका कारण भ्रष्टाचार, तस्करी, कमिशनखोरी, महङ्गी, कालाबजारी र कर छली आदि आर्थिक अपराध र राजनीतिक–सांस्कृतिक विकृति–विसंगतिले चरम सीमा नाघेको छ र देश आज २४ खर्बभन्दा बढी वैदेशिक ऋणमा डुबेको छ । दलालवाला, पुँजीवाला र पावरवाला सिमित पार्टी–नेता र तिनका परिवार–व्यापारिक घरानाहरुलाई नेपाल लूटखसोट र भोगविलासको साम्राज्य भएको छ । यस दौरानमा सर्वाधिक दुःखद विडम्बना त यो भएको छ कि पुष्पलालको जन्मशताब्दी र शतबार्षिकी र नेकपाको स्थापनाको हीरक महोत्सव मनाइँदै गरिएको अवस्थामा नेकपा र पुष्पलालकै नाम बेचेर नेताहरुले दाम कमाउने काम गरेर कम्युनिस्ट विचार, व्यवस्था, पार्टी, नेता र कार्यकर्ताको समेत गर्नुसम्म बदनाम गरेका छन् । यसरी के स्पष्ट भएको छ भने निरंकुश राजतन्त्रात्मक निर्दलीय पंचायती व्यवस्थाको अन्तपछिका यी ३५ बर्षमा देशको स्वाभिमान गिर्दै गएको मात्र होइन देशलाई साम्राज्यवादी–विस्तारवादीहरुको खेल मैदान र रणमैदान बनाउँदै देशको स्वत्व अस्तित्व नै समाप्त गरिंदैछ । अझ दुःखद आश्चर्य त के भएको छ भने देश र जनताको यो हालत गराउनमा आफूलाई मालेमाका अनुयायी, पुष्पलालका पुजारी, कम्युनिस्ट आन्दोलनका सारथि र कम्युनिस्ट पार्टीका कमान्डर भन्नेहरुको समेत अहं भूमिका छ । यसबाट के स्पष्ट भएको छ भने सोभियत रूसमा करोडौं जनता योद्धाहरुको त्याग–बलिदानबाट बनेको संसार हल्लाउने शक्तिशाली कम्युनिस्ट पार्टी, आन्दोलन र समाजवादी सत्तालाई अन्तध्र्वंश गरेका ख्रुश्चोभदेखि यल्तसिन र गोर्बाचोभसम्मका कुख्यात कम्युनिस्ट नामधारी संसदवादी दलाल नेता–शासकहरुका नेपाली अवतारहरु उदीयमान नेपाली कम्युनिस्ट आन्दोलन र समाजवादलाई समाप्तै पार्ने गुरुयोजनामा रहेका छन् । तथापि यो कुरा पनि त्यत्तिकै सत्य हो कि देश, जनता र कम्युनिस्ट आन्दोलनको यो हविगत हुनुमा यहाँका कम्युनिस्ट क्रान्तिकारी भनिने हामी कयौं पार्टी र नेताहरुका कमजोरीले पनि ठुलो काम गरेको छ । कार्यनीतिक, सांगठनिक, सांस्कृतिक र प्राविधिक विषय र व्यवहारमा मतभेद वा विभेद हुँदाबित्तिकै क्रान्तिकारी विद्रोहको आवरणमा वा पुनर्गठन–नवनिर्माणको बहानामा आ–आफ्ना सिमित र संकुचित स्वार्थ पूरा गर्नको लागि नै प्रायःजसो विद्रोह र विभाजन भएकोले पनि आज नेपालमा कम्युनिस्ट आन्दोलन यसरी धरासायी हुन पुगेको हो । यो कुराको प्रमाणको रुपमा क्रान्तिकारी विद्रोह र विभाजनबाट बनेका तुलनात्मक रुपले सही विचार र स्वच्छ आचार अंगालेका भनिएका पार्टी र नेताहरुकै बिचमा आपसमा हुर्के–बढेका दम्भ–अहंकार, आग्रह–पूर्वाग्रह, ईर्श्या–डाहा, आक्रमण–प्रत्याक्रमण र निषेध–निस्शेषका भावना र कृयाकलापहरुलाई प्रथम कारणको रुपमा लिन सकिन्छ । यसरी नै यिनै गलत चिन्तन र चरित्रले गर्दा पुष्पलालकै बिचार र बाटोमा बनेका र बढेका भनिएका क्रान्तिकारी कम्युनिस्टहरुका बिचमा पनि मुद्दा मिल्ने अवस्थामा समेत सडक संघर्षमा ससाना सहमति, सहकार्य र संयुक्त अभ्यास हुन–गर्न नसकेको–नचाहेको खेदजनक अवस्थालाई दोस्रो प्रमाणको रुपमा लिन सकिन्छ । यसैगरी तेस्रो प्रमाणका रुपमा जुन शक्ति, व्यक्ति र प्रवृत्तिविरुद्ध विद्रोह बोल्दै विभाजित बनेर बाटो बदलेका, व्यक्ति, शक्ति र प्रवृत्तिहरु केही समयको अन्तरालमै आपसमा साँठगाँठ, सहकार्य र संयुक्त मोर्चा गर्दै पार्टी एकता र ध्रुवीकरणमा समेत गएका र यो प्रकृया अद्यापि निरन्तर भएको कुरालाई पनि लिन सकिन्छ ।
यिनै अवांछित, अप्रिय र अनहोनी नीति र कृतिले गर्दा नै निर्णायक रुपले विजेता बन्ने र अघि बढ्ने हैसियतमा संयुक्त र सशक्त आन्दोलन हुन नसक्दा नै आज एमसीसी र नागरिकता सम्बन्धी चरम राष्ट्रघाती विधेयक समेत आम जनताको असहमति र विरोधका बावजुद पनि संसदबाट पारित हुन सकेका हुन् । अझ हास्यास्पद कुरा के भैरहेछ भने त्यही एमसीसी का विरुद्धमा कतिपय शक्ति र व्यक्तिहरुले एमसीसीका प्रायोजक सत्ताधारी शक्ति र नेताहरुसँगै मोर्चा मात्र होइन पार्टी नै एकता गर्दै छन् । अनि संसद र चुनावबाट समाजवाद ल्याउने गुड्डी हाँक्दै छन् । यी सबै हरकतहरुबाट कम्युनिस्ट पार्टीका नेता भनिएकाहरुले आफ्ना व्यक्तिगत, पारिवारिक र गुटगत लगायतका स्वार्थ पूर्तिका लागि विद्रोह वा एकता गर्ने गरेको सहजै पुष्टि भएको छ ।
आज नेकपाका संस्थापक मुख्य नेता पुष्पलालको जन्म शताब्दी र शतबार्षिकीको अवसरमा यो दिवस मनाउनुको अर्थ र महत्व पुष्पलालका वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक आदि क्षेत्रका क्रान्तिकारी योगदानहरुको अवलम्बन र कार्यान्वयनमा मात्र रहेको छ । साथै उहाँले गर्नुभएको मालेमाको आत्मसातीकरण, नेपाली समाजको ठोस अध्ययन र वैज्ञानिक विश्लेषण अनि देस र जनताप्रतिको उहाँको त्याग, तपस्या, बलिदान र समर्पणस विचार, विवेक, नीति, नैतिकता र स्वाभिमानको सम्मान, वर्गसंघर्ष, अन्तसंघर्ष, पार्टीपद्धति र अनुशासन आदिप्रतिको प्रतिबद्धता र कटिबद्धता तथा उहांँको सादा जीवन, पारदर्शी कार्यशैली, असल बानी–बेहोरा, कामरेडली भावना र सहज स्वभावलाई जीवनपद्धतिको रुपमा स्वीकार गरेर क्रान्तिकारी व्यवहारमा उत्रनु नै उहाँको सच्चा सम्झना र सम्मान गरेको हुनेछ ।
यसरी नै मालेमाले सिकाए झैं र पुष्पलालले लागू गर्न प्रयास गरे झैं देश, जनता र क्रान्तिलाई केन्द्रविन्दु बनाएर सोंच्ने र आपसी आग्रह–पूर्वाग्रहजस्ता मनोगतवादी रोगबाट बच्ने, विगतदेखि वर्तमानसम्मका आफ्ना र आन्दोलनका कमीकमजोरीहरुलाई निर्ममतापूर्वक समीक्षा, स्वीकार र सुधार गर्नेस पार्टी र नेताहरुको निरन्तर शुद्धीकरण र रुपान्तरणको विधिबाट नियमित क्रान्तिकारीकरण र सर्वहाराकरण गर्ने आदि विधि र व्यवहारहरु लागू गर्ने र गराउने गर्नुमा नै पुष्पलालले देखाएको सही र क्रान्तिकारी बाटोमा हिंडेको र पुष्पलालका सपना साकार पार्न लागेको ठहर्छ भन्ने हाम्रो बुझाइ छ ।
अन्तमा, मालेमाको बुझाइ र गराइको मूल मर्म अर्थात् क्रान्तिकारी धारबाट पूरै विचलित, विघटित र विसर्जित भएको अवस्थामा भएका सिमित टुटफुट र विभाजनहरु बाहेक नेपाली कम्युनिस्ट आन्दोलनमा आएका अन्य धेरै फुटहरुले क्रान्तिलाई धोका र धक्का दिएको आजको दुःखद अवस्था हो । यो अवस्थाबाट पार नपाए प्रतिगमन हुने वा यसै अस्थिरता र अस्तव्यस्तताका बिचमा वैदेशिक हस्तक्षेप हुने प्रबल खतरा छ । क्रान्तिलाई अघि बढाएर मात्र यो खतरा रोक्न सकिन्छ । तसर्थ आधारभूत रुपले पुष्पलालका विचारहरुलाई मान्ने मालेमावादी क्रान्तिकारी कम्युनिस्ट पार्टी, समूह, संघसंस्था र व्यक्ति–व्यक्तित्वहरु सर्वप्रथम आफैप्रति निर्मम बन्दै आत्मसमीक्षा र आत्मालोचना गर्ने अनि देश र जनताप्रति जिम्मेवार र गम्भीर हुँदै मूलतः पुष्पलालको वैचारिक योगदानमा आधारित साना–ठुला सम्पूर्ण पार्टीहरु अब अलगथलग रुपमा होइन एउटै छातामुनि एकताबद्ध भै निरन्तर क्रान्तिको सफल र उज्ज्वल बाटोमा पूर्ण प्रतिबद्धता र कटिबद्धताका साथ निर्णायक संघर्षमा जुट्न र डट्नको लागि अखिल नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समिति सम्बन्धित सबैसँग हार्दिक अनुरोध गर्दछ ।
अन्तमा, कमरेड पुष्पलाल र उहाँका विचार र व्यवहारहरुलाई स्मरण गर्न र पुष्पलालको विचारलाई केन्द्रमा राखेर नेपाली कम्युनिस्ट आन्दोलनलाई एकिकरण र ध्रुवीकरण गरी क्रान्तिकारी पुनर्गठनको हाम्रो प्रयास र अनुरोधलाई गम्भीरतापूर्वक मनन गर्न विशेष अपिल गर्दै हामी पुष्पलाल जन्मिएको यो सयौं जन्मोत्सवका सन्दर्भमा उहाँप्रति पुनस् शब्दश्रद्धा, हार्दिक आभार र लालसलाम सहित यो राजनीतिक श्वेतपत्र जारी गर्दछौं ।
धन्यवाद ! अभिवादन !
२०८१-३-१५
नारायण शर्मा
संयोजक
अखिल नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समिति