• बैशाख ९ २०८२, मंगलवार

एसईईमा शून्य नतिजा आएपछि जनता मावि बाँकेका शिक्षक र विद्यार्थी तनाबमा

असार १६ २०८१, शनिबार

नेपालगञ्ज । ०८० को एसईई परिक्षामा बाँके जिल्लाको कोहलपुरमा अवस्थित जनता माध्यमिक विद्यालयबाट शून्य विद्यार्थी पास भएपछि तनाब उत्पन्न भएको छ ।

एसईईको नतिजा सोचेभन्दा निकै खराब आएपछि सो विद्यालयका शिक्षकहरुको चर्को आलोचना भइरहेको छ । तर एसईई रिजल्टको विरोध गर्नेहरु डिप्रेसनको रोगी भएको कोहलपुर शिक्षा शाखा प्रमुख रामबहादुर हमालले आरोप लगाएका छन् ।

हमालले विषयगत शिक्षकहरु पूरा नभएकोले खराब नतिजा आएको बताए । बढीजसो गणित र विज्ञानमा नतिजा निकै नराम्रो भएको उनको भनाई छ । सोही विद्यालयका शिक्षक सुरेन्द्रकुमार थारुले ६ महिनासम्म त गणित विषयको पढाई नै नभएको बताए ।

आफूहरुले मेहनत गरेरै पढाएको भएपनि विद्यार्थीहरुले मेहनत नगरेको उनको गुनासो रहेको छ । यो भन्दा अगाडीका वर्षहरुमा भने एसईईको नतिजा राम्रै रहेको उनले बताए ।

एसईईमा देशभरमा जम्मा ५२ प्रतिशत विद्यार्थी फेल भएको नतिजा आएपछि यसका बारेमा बहस चलिरहेको बेला कोहलपुरको जनता माध्यमिक विद्यालयको नतिजा शून्य हुँदा अभिभावकहरुमा चिन्ता थपिएको छ ।

सो विद्यालयबाट ३४ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा १ जना पनि उत्तिर्ण भएनन् । उता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश थापाले आफ्नो विद्यालय शून्य हुनुमा धेरै पक्षको हात रहेको बताए ।

विज्ञान र गणित जस्ता महत्वपूर्ण विषयमा समयमा शिक्षक नपठाइनु मुख्य दोष रहेको उनको भनाई छ । प्र.अ र व्यवस्थापन समितिबीच तालमेल नहुनु पनि यसका कमजोरी पक्ष रहेको उनले बताए । अबदेखि विद्यार्थीको भविष्यप्रति खेलवाड नगर्ने प्रतिवद्दतापनि उनले जनाए ।

यसपटकको एसईई परिक्षामा देशभरबाट ४७.६१ प्रतिशत मात्र विद्यार्थी पास भएका छन् । एसईईको यो नतिजाको बारेमा देशभर बहस चलिरहेको छ ।

यसमा कसैले परिक्षा प्रणालीलाई दोष दिइरहेका छन् भने धेरैले शिक्षकहरुलाई दोषि देखिरहेका छन् । यसको कारणको भने वैज्ञानिक खोजी गर्नै पर्ने भएको छ ।