• असार १७ २०८१, आईतवार

एसईई परिक्षाफल : गणित विषयमा सबैभन्दा धेरै विद्यार्थी असफल

असार १४ २०८१, बिहीबार

काठमाडाै‌ । बिहीबार बिहान शिक्षा क्षेत्रको एउटा नयाँ युगको सुरुवातको घोषणा भयो । एसईई जसलाई शिक्षा क्षेत्रको स्वर्णद्धार पनि भन्ने गरिन्छ । यसैको पारपछि विद्यार्थीहरुले कलेजको ढोका खोल्न थाल्छन् । जुन ढोकाले विद्यार्थीहरुको भविष्य निर्धारणको एउटा पक्ष पनि लिएको हुन्छ ।

तर आधुनिक शिक्षा प्रणाली र यसमा आएका सुधारहरुलाई विद्यार्थीहरुले सजिलै पार गर्न विद्यार्थीहरुले नसकेको कुरा बिहान बिहान प्रकाशित एसईईको नतिजाले पनि देखाउँछ । एसईई २०८० को नतिजा अनुसार यसपाली अनिवार्य गणित विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या अन्य विषयभन्दा धेरै रहेको छ ।

बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार १ लाख ७७ हजार ९ सय ८५ जना विद्यार्थीको गणित विषयमा एनजी (नन ग्रेड) आएको छ । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७ सय ८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थी अनुत्तीर्ण (नन ग्रेड) भएका छन् ।

कुनै एक विषयमा नन ग्रेड भए ११ कक्षा पढ्न अयोग्य हुन्छन् । गणित विषयको परीक्षामा ८ हजार ११ जना विद्यार्थी अनुपस्थित भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गणितपछि विज्ञान विषयमा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

विज्ञानमा १ लाख २६ हजार ९ सय ३३ जनाले नन ग्रेड पाएका छन् । अंग्रेजी विषयमा १ लाख १३ हजार ३ सय ८३ र सामाजिक अध्ययनमा ७३ हजार ८ सय ७७ जनाले एनजी ल्याएका छन् ।

त्यस्तैगरी अर्थशास्त्रमा ६९ हजार ४ सय १६ जना, ऐच्छिक गणितमा २० हजार ३ सय ५२ जना र वातावरणमा ३ हजार ५ सय ११ जनाले एनजी ल्याएको तथ्याङ्क छ ।

दुई विषयसम्म एनजी लयाउने विद्यार्थीको लागि १८ र १९ साउनमा ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ । दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले आगामी चैतमा हुने परीक्षामा एनजी ल्याउने विषयको मात्र परीक्षा दिन पाउनेछन् ।