• आश्विन १३ २०८१, आईतवार

अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा भ्याली पब्लिक ‘ए’ र एन्जल्स हार्ट बने च्याम्पियन

असार १३ २०८१, बुधबार

काठमाडौं । भ्याली पब्लिक ‘ए’ र आयोजक एन्जल्स हार्ट सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । आइतबार सम्पन्न प्रतियोगितामा भ्याली पब्लिक ‘ए’ सिनियर गल्र्स तथा एन्जल्स हार्ट जुनियर ब्वाइजमा पहिलो भए ।

मनमैजुस्थित आयोजक एन्जल्स हार्टको कोर्टमा भएको सिनियर गल्र्स फाइनलमा भ्याली पब्लिक ‘ए’ आफ्नै ‘बी’ टिमलाई २८–२० ले पराजित गर्यो । विजेता लोरिशा गौचनले नौ अंक जोडिन् । प्रतियोगीतामा ग्रिनल्यान्ड तेश्रो भयो ।

जुनियर ब्वाइजको प्रतिस्पर्धात्मक फाइनलमा एन्जल्स हार्टले किङडम हिमालयलाई ३७–३१ ले हरायो । निर्धारित समयको खेल ३१–३१ को बराबरीमा सकिएको थियो । एन्जल्स हार्टका रुपेश पौडेलले १५ स्कोर गरे । ग्रिनफिल्डले तेस्रो स्थान हासिल गर्यो ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टका रुपेश पौडेल तथा सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ की अनिता गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा एन्जल्स हार्टका अदित पुन तथा सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ की लोरिशा गौचन उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

जुनियर ब्वाइजमा किङ्डमका जिग्मे लामा तथा सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ की दृष्य गुरुङ प्रतियोगीताकै सर्वाधिक स्कोरकर्ता बने ।

साताव्यापी प्रतियोगीतामा जुनियर ब्वाइजतर्फ १६ तथा सिनियर गल्र्सतर्फ १३ टिमले प्रतिस्पर्धा गरेका थिए ।

हिसान बास्केटबलमा टाइम आउट च्याम्पियन :
टाइम आउट नेपाल प्रथम हिसान तारकेश्वर एसइइ कप थ्री एक्स थ्री छात्र बास्केटबलमा आइतबार च्याम्पियन बनेको छ ।
एन्जल्स हार्टमै आइतबार भएको फाइनलमा टाइम आउटले श्री युवा क्लबलाई १९–१५ ले पराजित गर्यो ।

उपाधिसँगै टाइम आउटले १५ हजार तथा श्री युवा क्लबले १० हजार रुपैयाँ प्राप्त गरे । हिसान तारकेश्वर कमिटिद्वारा आयोजित दुई दिने प्रतियोगीतामा ५० टिमले प्रतिस्पर्धा गरेका थिए ।

विजेतालाई तारकेश्वर नगरपालिकाकी उपमेयर श्रृजना बुर्लाकोटी अर्याल, एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनलगायतले पुरस्कृत गरे ।