• असार १६ २०८१, शनिबार

मीनबहादुर गुरुङको भाटभटेनी सुपर स्टोर्सले थप दुई हजार युवालाई रोजगारी दिने

असार १३ २०८१, बुधबार

काठमाडौं । देशको सबैभन्दा ठूलो सुपर मार्केट्स चेन भएको भाटभटेनी सुपर स्टोर्सले थप दुई हजार युवाका लागि रोजगारी दिने घोषणा गरेको छ । अहिले भाटभटेनीमा छ हजार बढीले रोजगारी पाइरहेका छन् ।

भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार देशमा युवाहरूका लागि रोजगारीको अवसर कम भयो भन्ने जनगुनासोलाई ध्यानमा राख्दै भाटभटेनीले रोजगारीको अवसर सिर्जना गर्ने निर्णय गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरेर आफूले रोजगारी सिर्जनाका लागि सरकारलाई सहयोग गर्ने वचन दिएको र सोही अनुरुप यो घोषणा गरिएको पनि गुरुङले बताए ।

काठमाडौंसहित देशभर रहेका भाटभटेनी स्टोरमा आफ्नो पढाई चालु राख्दै काम गर्नचाहने मेहनती युवा युवतीका लागि ‘पार्ट टाइम’ रोजगारी उपलब्ध गराउने सोच अनुरुप यो निर्णय लिइएको गुरुङले बताएका छन् ।

हालसम्म भाटभटेनीमा काम गर्न चाहनेहरूले आठ घण्टा काम गरेर महिना दिनमा सोही अनुसारको तलब बुझ्दै आएकोमा नयाँ योजना अनुसार रोजगारी पाउनेहरूलाई फरक नियम लागु हुने बताइएको छ । नयाँ प्रक्रिया अनुरुप जागिर खाने र काम गर्ने रोजगारलाई हरेक हप्ताको अन्त्यमा नै उनिहरूले सो हप्ता कमाएको तलब दिइने व्यवस्था गरिएको पनि गुरुङले बताएका छन् ।

यस्तो जागिरको मौका २१ वर्ष भन्दा कम उमेर भएका र कुनै कलेजमा अध्ययनरत रहेका युवा–युवतीलाई मात्र दिइने छ । यसरी जागिर पाउने युवा–युवतीले दिनको चार घण्टामात्र र हप्तामा पाँच दिन काम गर्नेछन् ।

‘अमेरिका, अष्ट्रेलिया र अन्य देशमा पढ्न जाने विदेशी विद्यार्थीलाई हप्ताको बीस घण्टा काम गर्ने अवसर दिइन्छ । हामीले पनि सोहीअनुसार नेपाली विद्यार्थीहरूलाई हप्ताको बीस घण्टा रोजगारी दिने सोच बनाएका छौं,’ गुरुङले भने ।