• असार १६ २०८१, शनिबार

मेयर बालेनलाई वडाध्यक्षको प्रश्न–स्ट्याटस हाल्दा ख्याल गरौं, तिम्रो जस्तो मुटु मेरो पनि होला

असार ११ २०८१, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्ष नवराज पराजुलीले मेयर बालेन शाहले आफूहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेको स्ट्याटसप्रति दुःख व्यक्त गरेका छन् । उनले मेयर शाहले तथ्यलाई तोडमोड गर्दै स्ट्याटस लेखेको समेत आरोप लगाएका हुन् ।
गत असार २ गते महानगरपालिकाको नगर सभाअघि मेयर साहले बैठकमा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका थिए । तीन जनाले नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भएको उनले आरोप समेत लगाएका थिए । तर, वडाध्यक्ष पराजुलीले भने आफूहरूले मेयर बालेनलाई केही समय बैठक स्थगित गर्न आग्रह मात्र गरेको खुलाए ।

‘छलफलका लागि समय अपुग भयो, एक घण्टा जति सारौँ भनेर आग्रह मात्र गरेका थियौँ । तर मेयर साबले तीन जनाले १६० जनालाई नियन्त्रण गर्न मिल्छ ? उहाँको नैसर्गिक अधिकारलाई हनन गर्न मिल्छ ? भनेर जुन स्ट्याटस हाल्नुभएको छ । यसका लागि दुःख व्यक्त गर्न चाहन्छौँ ।’

पराजुलीले प्रश्न गरे, ‘के हामी निरङ्कुश नै हौँ ? एमालेबाट म, नेपाली कांग्रेसबाट नवीन मानन्धर, समाजवादीबाट ईश्वरमान डङ्गोल, प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत बसेर छलफल गर्छौँ । बेलाबेला काठमाडौँ महानगरपालिकामा अप्ठेरो पर्दा यसलाई सहजीकरणका लागि बस्ने गर्थ्याैं । के यो तानाशाही व्यवहार हो ? हो भने भनिदिनुर्पयो । होइन भने हामी कसरी तनाशाह भयौँ ?’

उनले आफूहरू पञ्चायतविरुद्ध र राजतन्त्रविरुद्ध लडेको स्मरण गराउँदै जनताको प्रतिनिधि बनेर निरङ्कुश जनताले नै पराजित गर्ने स्मरण गराए । ‘अराजकताविरुद्ध लड्नेहरू कसरी निरङ्कुश हुन सक्छौँ ?,’ उनले भने, ‘हामी मिलेर जान चाहन्छौँ । पीएल सिंह नेतृत्वमा आउँदा हलचल हुन्थ्यो तर मिलेर चलेको थियो । केशव स्थापित र विद्यासुन्दर आउँदा पनि मिलेर सर्वसम्मत निर्णय र्गयौँ । के मिल्नु कमजोरी भयो ? तपाईं स्वतन्त्र भए पनि हामी सबैले साथ दिन्छौँ । नराम्रो काम गर्दा नराम्रो भयो भन्छौँ । मान्नुभयो भने ठिकै छ नत्र राम राम भन्छौँ ।’

सामाजिक सञ्जालमा यथार्थ कुरा गर्नु पर्ने र कसैलाई उक्साउने र कसैलाई थच्याउने काम गर्न नहुने बताए । यसले नराम्रो प्रवृत्तिको विकास गर्ने उनको भनाई थियो । उनले विभिन्न व्यक्ति तथा नेतालाई लक्षित गरी स्ट्याटस हाल्दा आफ्नो मर्यादालाई ख्याल गर्नुपर्ने बताए ।

उनले भने, ‘कसैले गल्ती र्गयो भने नियमनकारी निकायबाट त्यसको अनुगमन हुन्छ, कारबाही होला । तर, फ्याट्ट स्ट्याटस हाल्दा त्यो मान्छेको पनि मन दुख्ला । आफूलाई पनि गिल्टी होला । आज बोलेर भोलि फिर्ता लिनुभन्दा धैर्य गरेर छुट्टै बसेर सल्लाह गर्न सकिन्छ । म मेयरज्यूलाई यति भन्न चाहन्छु, तिम्रो जस्तो मुटु मेरो पनि नबोलाऊ मलाई निष्ठुरी भनी ।’