• मंसिर ११ २०८१, मंगलवार

आइडा सम्मेलनको उपादेयता

असार ११ २०८१, सोमबार

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडा–२१) को वैठक भव्य रूपमा सम्पन्न भएपछि अब के हुन्छ भनेर नेपाली जनताले आँखा तरिरहेका छन् । नेपाल आइडाको बसाइका लागि चयन हुनु सबैका लागि अवसरको कुरा हो । तथापि यसको उपादेयता देखिन्छ वा देखिदैन भन्ने कुराले धेरैलाई पिरोलिरहेको छ ।

स्वदेशमा सम्पन्न विदेशी लगानीकर्ताको तेस्रो परिपूरण बैठकले नेपालमा केही हुने पो हो कि भन्ने आशा जगाएको छ । सम्मेलका बखत काठमाडौंमा देखिएको भौतिक चहलपहलले यो कुरा निम्त्याएको हो ।

राजधानी सहर काठमाडौंमा यो वैठक होटल सोल्टी प्लाजामा सम्पन्न हुँदा नेपाल विश्व आर्थिक चहलपहलको केन्द्र त बन्दै छैन भन्ने भान हुन्थ्यो पनि । चार दिनसम्म सम्मेलन वैठक चल्दा यो दृष्य नाङ्गो आँखाले पनि देख्न सकिन्थ्यो । तर नेपाल सरकारले यसका बारेमा मुख खोलेको छैन ।

उक्त बैठकको शुक्रवारका दिन समापनका बखत अर्थमन्त्री वर्षमान पुनले बैठकले न्यून आय भएका मुलुकका लागि आगामी वर्षहरूमा गर्ने सहयोगसम्बन्धी रणनीति तय गरेको कुरा बताएका थिए । यसबाट नेपालले लिने लाभका बारेमा सरकार सचेत हुनै पर्छ र जनतामा सुसूचित पनि गर्नुपर्छ ।

विश्वका ६१ देशका करिब दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता भएको यो वैठक आफैमा सामान्य होइन । तर पनि हाम्रो सन्दर्भमा सरकारले गर्ने पहल र सचेतामा यसका उपलब्धी हात लाग्ने हुन्छ ।

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्ग पनि सहभागी भएपछि यो वैठकको महत्व आफैमा कति उचाइमा छ भन्ने भान हुन्छ नै । यसलाई ‘क्याश’ गर्न नेपाली शासक चतुर र सुझबुझका साथ अघि बढ्नु पर्छ । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपस्थितिका कारण यस्ता सम्मेलन वा वैठक भएको कुरा जनतामा जान दिनु हुँदैन ।

एमसीसीले आफ्नो उपस्थितिका लागि बेलाबेलामा यस्ता कार्यक्रम गर्ने गरेको अन्य देशहरूमा प्रशस्त उदाहरण छन् पनि । नेपालको आफ्नो स्वत्व र भूमिका यसमा देखिनुपर्छ पनि ।

नेपाल अहिले ऋण काढेर बाँचिरहेको छ । बजेट पनि ऋणभारमा आधारित छ । थप ऋण के कति लिने भन्ने बारेमा नेपाल सचेत हुनै पर्छ । जहाँसम्म सहुलियत ऋणको कुरा छ, यो सरकारले बुझ्ने कुरा हो । त सरकारले के कति ऋण लिने ? कसरी लिने र केका लिने भनी प्राथमिकीकरण गरिसकेको अवस्था छैन ।

प्रचलनमा आए अुसारका परम्परागत ‘प्याटर्न’ का आधरमा ऋण लिने गरिरहेको छ । यसले गर्दा माग एउटा र कार्यान्वयन वा प्राथमिकता अर्को पर्न जाँदा विश्वमा नेपालको आर्थिक छबी राम्रो देखिदैन । नेपाल विदेशी ऋणदाता र लगानीकर्ताको नजरमा परेको हो वा भूराजनीतिक चलखेल मात्र हो ? ख्याल गरिनु पर्छ । अर्कोतिर नेपाल आफैले ऋण लिने नयाँ प्याटर्न दिन सकेको छैन । योजनाबद्ध आर्थिक विकासका लक्ष्य पनि परिस्कृत गरी तय गरिएका छैनन् ।

यस्तो अवस्थामा रमझमपूर्ण अन्तर्राष्ट्रिय बसाइ र भेलाले उल्टै खर्च मात्र बढाउने काम गर्दछन् । कार्यक्रमका अवधिभर मन्त्री र कर्मचारी अधिकारी रमाउने भन्ने छुट्टै कुरा हो । मात्र सम्मेलन आइडा बैठकले आगामी ३ वर्षका लागि गरिब र न्यून आय भएका देशका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका बारेमा निर्णय लिएको सार्वजनिक भएको छ ।

आश्चर्यको कुरा के छ भने नेपाललगायतका गरिब देशले प्राथमिकतासहित ऋण र सहुलियत ऋणको न त माग गरेका छन् न त स्पष्ट कुरा नै राखेका छन् । दाताको मुखमा हेर्ने र उनीहरूको हाँसाोमा हाँसो मिलाउने बाहेक अरू गर्न सकेको देखिएन भने जनतामा झन् निरशा आउने छ ।

यस सम्बन्धमा नेपाल मात्र होइन, नेपालजस्ता अन्य देशहरूले पनि दातृ पक्षसँग खुलेर गहनतम् छलफल गर्नैपर्छ । सम्मेलन मात्र कर्मकाण्डी देखिँदा अपेक्षा गर्ने कुरा ओझेलमा परेर जाने देखिन्छ ।