काठमाडौँ । शिक्षा मन्त्री सुमना श्रेष्ठले शिक्षकले राजनीति गर्न नपाउने कानुनी व्यवस्था कार्यान्वयन गरेरै छाड्ने बताएकी छिन् । उनले कानुन कार्यान्वयन गर्न आफूले खुट्टा नकमाउने प्रस्ट पारिन् ।
‘यो यहाँहरूले नै लेखेको पारित गरेको कुरा हो । अब मैले कानुनी व्यवस्था कार्यान्वयन गर्न खोज्दा खुट्टा किन कमाउने ?,’ बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै आइतबार मन्त्री श्रेष्ठले भनिन्, ‘कानुनको कार्यान्वयन गर्दा डीएनए मात्रै होइन, आरएनए पनि परीक्षण गरौँला । फरेन्सिक ल्याब पनि यही मन्त्रालयअन्तर्गत छ । सातवटै प्रदेशमा छ, यो पनि गर्ने हो ।’
उनको अभिव्यक्ति केही अघि पूर्वशिक्षामन्त्री एवं माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले दिएको अभिव्यक्तिको प्रत्युत्तरजस्तो सुनिएको थियो ।
पौडेलले संसदमै २९ जेठमा बोल्दै ‘अनावश्यक रूपमा शिक्षकको डीएनए परीक्षण गर्दै हिँड्ने कुरा राम्रो होइन’ भन्ने अभिव्यक्ति दिएका थिए ।