काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा फरार जीबी राईलाई पक्राउ गर्ने भन्दा भगाउने नियत राखेको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेले जीवी राईलाई पक्राउ गर्नेभन्दा भगाउने नियत राखेको बताएका हुन् ।
‘तत्कालीन गोरखा मिडिया नेटवर्कका मालिक मध्य एकजना फरार छन् । एक जना गृहमन्त्री छन् । सहकारी ठगीमा फरार भएको व्यवसायी साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेको गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ । लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ?’ उनको प्रश्न छ, ‘अभिव्यक्ति पक्रिने नयाँ शैली हो ? केटाकेटीपन हो या भगाउने नियत हो ?’
देशलाई जीवी राईको लोकेसन नभई जीवी राई चाहिएको शर्माले बताए । ‘त्यो लोकेसनमा गेट बनाएर, कार्पेट ओछाएर दुई पक्षीय वार्ता हुने हो ? गृहमन्त्रीले लोकेसन पत्ता लागेको भनेको चार दिन भयो । प्रतिपक्षमा हुँदा उहाँले जीवी राईलाई सरकारले पक्रिन चाहेन । पक्रिन चाहेको भए यतिको समय किन लाग्छ ? भन्नुभएको थियो । लोकेसन पत्ता लाग्दा पनि पक्रिन चार दिन किन लाग्छ ?,’ उनले भने ।
मलेसियासँग सुपुर्दगी सन्धि नभएकाले जीवी राईलाई ल्याउन कठिनाइ भए पनि असम्भव नभएको शर्माले बताए । मलेसियाबाट कुनै पनि अपराधीलाई पक्राउ गरेर ल्याउन सुपुर्दगी सन्धि नभएको नचाहिने महामन्त्री शर्माको दाबी छ ।
‘आजभन्दा १० वर्षअघि सुशील कोइराला प्रधानमन्त्री भएकाले मलेसियासँग नेपालको सुपुर्दगी सन्धि थिएन ।
तर चितवनको राजकुमार चेपाङ नाम गरेको एक जना व्यक्तिलाई मलेसियन सरकारकै सहयोगमा २०७१ साल माघ १६ गते पक्राउ गरेर नेपाल ल्याइएको थियो । अहिले मलेसियाको सुपुर्दगीको प्रक्रियाभन्दा पनि स्टन्टबाजी भइरहेको छ,’ उनले भने ।
नैतिकताको प्रश्नले तत्कालीन अर्थमन्त्री रामशरण महत र जनार्दन शर्मालाई छोए पनि रवि लामिछानेलाई नछोएको उनको भनाइ थियो । आफूमाथि लागेका आरोपबारे संसदीय छानबिन समिति बन्दा महत र शर्माले पदबाट राजीनामा दिए पनि गृहमन्त्री लामिछाने पदमै आसीन भएको प्रसङ्ग उठाउँदै शर्माले नैतिकताको प्रश्न उठाएका थिए ।