• आश्विन १३ २०८१, आईतवार

कृत्रिमतामा रम्दै दुबइ

असार १० २०८१, आईतवार

दुबइ कृत्रिमतामा रम्दैछ । पछिल्लो समयमा यसले गरेको कृत्रिम विकास आफैमा अनौठो छ । विश्वका तेल निर्यातक देशमा अग्रणी रहेको यो देश आफैमा नयाँ नयाँ निर्माणमा अघि सरेको छ । भौतिक विकासमा छलाङ लगाउने सोचमा रहेको दुबइमा नयाँ कुरा के निर्माण गर्ने होला भनी नयाँ प्रविधि र सोच तथा खोजको आतुरतामा देखिन्छ ।

हाल दुबइमा विकासका लागि पाइला चाल्ने धेरै कम्पनी अस्तित्वमा छन् । देशी तथा विदेशी कम्पनी यसमा लागि परेका छन् । तीमध्ये चर्चामा आएको कम्पनी क्लेइन्डियन्स्ट ग्रुप हो । यो दुबइको सबैभन्दा ठूलो रियल स्टेट कम्पनी हो । यो विदेशी कम्पनी हो ।

यसले परिकल्पना गरेर धेरै धेरै डिजाइन तयार पार्ने र परिकल्पनालाई साकार पार्ने काम गरिरहेको छ । यसले दुबइमा विश्वको स्वरूप देखाउने सिर्जनात्मक काम गरिरहेको छ । हाल ‘द हर्ट अफ युरोप’ नामको परियोजना कार्यान्ववयन गर्नमा दत्तचित्त भएर लागिरहेको छ । यसको अनुमानित लागत पाँच अर्ब डलर अनुमान गरिएको छ ।

सो कम्पनी अष्ट्रियन उद्यमी जोसेफ क्लेन्डियन्स्टको हो । उक्त परियोजना अन्तरगत विभिन्न लग्जरी होटल, निजी घर तथा युुरोपेली शैलीका तैरिने भिल्लाहरू बनाइनेछ । ती सबै संरचनाहरू ‘द वल्र्ड’ मा जर्मनी, मोनाको, स्वीडेन तथा भेनिस नामका टापुहरुमा निर्माण कार्य गरी सम्पन्न गरिने छ ।

यो परियोजनाको सफलतासँगै त्यहाँ पुगेका पर्यटकहरूले वर्षको स्वाद लिन पनि पाउने छन् । किनकि त्यहाँ ‘वर्षात् गल्ली’ पनि बनाइँदै छ । दुबइको गर्मीमा यसले अनौठो स्वर्गीय स्वाद दिने छ । यसको निर्माणपछि तीव्र गर्मीको बेलामा पनि मानिसले वर्षातको पानीमा भिजेको आनन्द लिन सक्नेछन् ।

कम्पनीका अनुसार सन् २०२६ मा निर्माण भइसक्ने उक्त ‘द वल्र्ड’को बनावटमा सिर्जना, सिप र क्षमताको खोजी भइरहेको छ । यस परियोजना अन्तर्गतका सबै २६० वटा टापुहरूलाई महादेशको रुपमा एक अर्कासँग जोडिने योजना आफैमा अनौठो र रोचक छ ।

पहिले अलग अलग टापुको निर्माण गरिने भनिए पनि पछि ती सबै जोडिने भएका छन् । हरेक टापु अलग रहँदा पानी तथा बिजुलीको अलग अलग लागत र व्यवस्था गरिनु पर्ने थियो । यो निकै महँगो र अव्यवहारिक पनि थियो ।

तर आकर्षक चाहिँ कम थिएन । यस लागतलाई कम गर्न र व्यवस्थापनमा सहजीकरण गर्न अब ती कृत्रिम टापुहरू महादेशको रुपमा एकअर्कासँग जोडिने भएका छन् । ती टापुहरूले बिजुली तथा पानीजस्ता सुविधाहरू एकापसमा शेयर गर्नेछन् ।