• आश्विन १३ २०८१, आईतवार

लाङटाङ राष्ट्रिय निकुञ्जका अध्यक्ष थापाले गरे आफूविरुद्द छापिएको समाचारको खण्डन

असार ८ २०८१, शुक्रबार

काठमाडौं । रसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष उत्तमबहादुर थापाले कर्मचारी प्रेस नामक अनलाइन सञ्चारमाध्यमले आफ्नाविरुद्ध भ्रामक समाचार प्रकाशन गरेको भन्दै सो समाचारको खण्डन गरेका छन् ।

आज एक विज्ञप्तिमार्फत् थापाले सो समाचारको खण्डन गरेका हुन् । विज्ञप्तिमा अध्यक्ष थापाले आफूसित जानकारी नै नलिइ बिना प्रमाण, बिना सत्य, तथ्य र बिना आधारको कपोकल्पित रुपमा समाचार तयार पारी आफ्नो चरित्र हत्या गर्ने उद्धेश्यले समाचार प्रकाशन गरेको भन्दै आपत्ति जनाएका छन् ।

सो अनलाईनले आषाढ ६ गतेको मितिमा ‘असार मासमा थापालाई चाहियो कांग्रेसी हाकिम’ शिर्षकमा समाचार प्रकाशन गरेको छ । सो समाचारमा कांग्रेस निकट थापाको समूहले हाकिममाथि दुव्र्यवहार गरेको र वन्यजन्तु सप्ताह तथा रेडपाण्डा ट्रफी कार्यक्रम नेपाली कांग्रेसनिकट गैरसरकारी संस्थामार्फत् गर्नुपर्ने भन्दै निकुञ्ज प्रशासनलाई दबाब दिएको र त्यसमा असफल भएपछि चिढिएको बताएको छ ।
यस्तो छ थापाले जारी गरेको विज्ञप्ति :
‘हरि गजुरेल अध्यक्ष तथा प्रधान सम्पादक रहेको कर्मचारी प्रेस नामक अनलाइनले यही असार ७, २०८१ को मिति राखेर ‘असार मासमा थापालाई चाहियो कांग्रेसी हाकिम’ शिर्षकको समाचार लेखेकोप्रति मेरो गम्भीर आपत्ति रहेको छ । समाचारमा कुनैपनि स्रोत उल्लेख नगरी र कसैको पनि भनाई उल्लेख नगरी व्यक्तिगत चरित्र हत्या गर्ने उद्धेश्यले समाचार लेखिएको कुरा जगजाहेर छ । लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको निर्वाचित अध्यक्ष र हाम्रो संस्थाको अपमान गर्ने उद्धेश्यका साथ सुनियोजीत ढंगले म र मेरो संस्थामाथि गैरजिम्मेवार ढंगबाट अनलाइनमा समाचार प्रकाशन गरी म विरुद्ध भ्रामक र गलत प्रचार गर्ने काम भएको छ । त्यसैले कर्मचारी अनलाइनमा प्रकाशित समाचारमा मलाई लगाइएको आरोप झुठा भएको र राजनीतिक प्रतिशोधमा आधारित भएकोले उक्त कर्मचारी प्रेस अनलाइनमा आएको समाचारलाई सच्याई सत्य र तथ्य समाचार संप्रेशन गर्न अनुरोध गर्दछु ।
वास्तविक कुरा यो छ कि विगत लामो समयदेखि लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय प्रमुख अणनाथ बराललाई मैले व्यवस्थापन समितिको अध्यक्षको हैसियतले लाङटाङ राष्ट्रिय निकुञ्जको प्रमुख सदस्य सचिव रहने कानूनी व्यवस्था अनुसार बैठक राख्न पटक-पटक आग्रह गर्दा पनि बैठक नराखी मनोमानी ढंगबाट मध्यवर्ती क्षेत्रतर्फका कार्यक्रमहरु संचालन गर्ने, यस क्षेत्रका उपभोक्ता समितिका अध्यक्षहरुलाई स्पष्टिकरण सोध्ने, समितिसँग सम्झौता भएका कार्यक्रमहरु आफूखुसी कटौती गर्ने, सवारी चालक श्री ईश्वर आचार्यलाई काम गर्न नदिइ दबाब दिएर जागीर छोड्न बाध्य पारेको, मध्यवर्तीका अध्यक्षहरुको उल्टै पद खारेजी गरिदिन्छु भनी धम्कीपूणर् पत्र लेख्ने, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष र ला.रा नि.प्रमुखको संयुक्त दस्तखतबाट संचालन हुँदै आएको अक्षय कोष (जनताको राहत रकम) को खाता अध्यक्षलाई नै जानकारी नगराई आफ्नो मातहतका कर्मचारीको नाममा उक्त कोषको रकम अपचलन गर्ने उद्धेश्यका साथ खाता परिवर्तन गर्ने र मानव-वन्यजन्तु द्धन्द न्यूनीकरण गर्नका लागि कृषि बाली जंगली जनावरबाट क्षति भएमा जनताले पाउनु पर्ने राहत रकम आफ्नै खल्तीको रकम जस्तै गरी हालसम्म पनि रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका जनताहरुले राहत स्वरुपको क्षतिपूर्ती रकम भुक्तानी पाएका छैनन् । साथै आफ्नो मातहतका कर्मचारीलाई अनावश्यक रुपमा दुःख दिई खाइपाई आएको सेवासुविधा कटौती गर्ने धम्की दिने, मेरो विरुद्धमा कहिँ कतै बोल्यो भने सरुवा गरिदिन्छु भन्ने खालका कर्मचारीहरुको विभाग र मन्त्रालयमा बुझाएको ज्ञापन पत्रमा समेत बेवास्ता गरी कारवाही गरिदिन्छु भन्ने धम्की आइरहेको जानकारी समेत पाएको छु । विकास निर्माणका कार्यहरु गर्दा, हाइड्रोपावर निर्माण कम्पनी र सडक निर्माण गर्ने निर्माण व्यवसायीहरुलाई दुःख दिने, झन्झट दिने र आर्थिक मोलमोलाई गर्ने गरेको व्यापक गुनासो अध्यक्षको हैसियतले म सम्म आइपुगेको छ । उल्टै यस्तो कर्मचारीलाई मनोबल उच्च बनाउने उद्धेश्यले र व्यवस्थापन समितिको अध्यक्षलाई हतोत्साहित गर्ने गरी सरुवा, रेडपाण्डा ट्रफी र कांग्रेसीकरण गरेको भन्ने समाचारप्रति म दुःखी छु । वास्तवमा म विगतदेखि पेटको अल्सरको विरामी भई उपचारमा छु । यस्तो गम्भीर अवस्थामा रहेको विरामीलाई कपोलकल्पित र भ्रामक समाचारले थप मानसिक तनाव दिइरहेको समेत यसै विज्ञप्तिमार्फत् जानकारी गराउन चाहन्छु ।’
उत्तम बहादुर थापा
अध्यक्ष
लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, धुन्चे रसुवा ।