• असार १६ २०८१, शनिबार

बद्रि पंगेनीको ‘बसे है पाले दाइ’ गीत विवादमा पर्यो, युटुबबाट हटाउन माग

असार ८ २०८१, शुक्रबार

काठमाडौं । बद्रि पंगेनी लगायतका कलाकारहरूको स्वर रहेको लोकदोहोरी गीत ‘बसे है पालेदाइ’ विवादित बनेको छ । सामाजिक मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै तीन दिनअघि सार्वजनिक भएको यो गीतलाई प्रतिबन्ध लगाउनु पर्ने माग उठेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाका शिक्षक संघ–संगठनहरूले गीतलाई प्रतिबन्ध लगाउन माग गरेका हुन् । एक संयुक्त वक्तव्य जारी गर्दै अन्नपूर्ण गाउँपालिकाको नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनले गीतलाई युट्युब लगायत प्लाटफर्मबाट हटाउन माग गरेका छन् ।

गीतमा स्कुललाई मायाप्रेम गर्ने थलोको रूपमा चित्रित गरिएको, राष्ट्रिय गानको अपमान गरिएको, शिक्षकहरूलाई अपमानित हुनेगरी टुक्का राखिएको, विद्यालय कर्मचारीप्रति काम नगरी जागिर खाने र कार्यालयभित्र शिक्षकलाई अमर्यादित सोच राख्ने मान्छेको रूपमा चित्रण गरिएको उनीहरूको आरोप छ ।

यसका साथै विद्यार्थीले विभिन्न भाषामा अभिवादन गर्दा शिक्षकले भौतिक सजाय दिएको जस्ता अपाच्य दृश्यले विद्यालय शिक्षाप्रति नै नकारात्मक भाव प्रकट गरेको आरोप लगाइएको छ । बालकृष्ण श्रेष्ठको शब्द तथा स्वर्गीय जयनन्द लामाको संगीत रहेको गीतमा बद्रि पंगेनीसहित चोलेन्द्र पौडेल, माया गुरुङ, सुमन परियार, रवि कार्की, श्याम राना, बालकुमार श्रेष्ठ, सुमित्रा कोइराला, अस्मिता डल्लाकोटी र बालिका तामाङको स्वर छ ।