• मंसिर १२ २०८१, बुधबार

उचित तरिकाले कर संकलन गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

असार ७ २०८१, बिहीबार

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले करदातालाई कर तिaर्न प्रेरित गर्नका लागि मातहत निकायलाई निर्देशन दिएका छन् ।

चालु आर्थिक वर्षको अन्तिम महिनामा राजस्व संकलन बढाउने उद्देश्यले कर र राजस्व प्रशासनसँग सम्बन्धित सिनियर कर्मचारीहरूलाई बिहीबार मन्त्रालयमा बोलाएर उनले सामूहिक निर्देशन दिएका हुन् ।

‘करदातालाई अनुचित ढंगले दबाब दिने होइन, उचित ढंगले कर तिर्न प्रेरित गरौं’, उनले भने, ‘राज्य करदाताको अभिभावक पनि हो । ‘डिक्टेटर’ जस्तो व्यवहार नगरी सहजीकरण गर्नुपर्छ, सहकार्य गर्नुपर्छ ।’

मन्त्री पुनले असल नियतले काम गर्ने करदाताका जायज गुनासा सुन्न र कानुनले मिलेसम्म सम्बोधन गर्न पनि भने । तर, अनुचित र गलत प्रवृत्तिको संरक्षण गर्न नसकिने उनले स्पष्ट गरे । खराब प्रवृत्तिसँग राज्यले राज्यकै रुपमा प्रस्तुत हुनुपर्नेमा सचेत गराए ।

‘कडाइ गर्नुपर्ने ठाउँमा कडाइ र खुकुलो गर्नुपर्नेमा खुकुलो गर्नुपर्छ’, उनले भने, ‘राम्रा करदातासँग असल र मैत्रीपूणर् व्यवहार गर्नुस् । कर छल्ने गलत प्रवृत्तिसँग भने राज्यले राज्यकै रुपमा प्रस्तुत हुनुपर्छ ।’ लगानी गरेर असल नियतले नाफा कमाउन चाहने उद्योगी-व्यवसायीलाई सहजीकरण गर्नु राज्यको दायित्व भएकाले त्यसमा कुनै कमी नहुन पनि उनले निर्देशन दिए ।

‘असल तवरले लगानी गरेर नाफा कमाउनुस् । राज्यले त्यसका लागि सहजीकरण गर्छ । तर, जसरी हुन्छ मुनाफा आर्जन गर्नुपर्छ भन्ने प्रवृत्तिलाई पनि निरुत्साहित गरिन्छ’, मन्त्री पुनले भने ।

उनले राजनीति, प्रशासन र व्यवसाय सबैतिर स्वार्थ समूह रहेको चर्चा गर्दै स्वार्थ समूहबाट अलग रहन कर्मचारीलाई आग्रह गरे । उनले आफूले अमुक व्यवसायिक घरानाको पक्ष वा विपक्षमा काम गर्न कहिल्यै संकेतसम्म नरहेको भन्दै सबैलाई काम गर्ने वातावरण दिएको उल्लेख गरे ।