• मंसिर १३ २०८१, बिहीबार

रुस र उत्तर कोरियाबीच ४ बुँदे सैन्य सम्झौता, अमेरिका र युराेपलाई भयाे तनाब

असार ७ २०८१, बिहीबार

प्योङयाङ । रुस र उत्तर कोरियाबीच रक्षा लगायतका धेरै महत्वपूर्ण  विषयमा नयाँ सम्झौता भएको छ । रुसको सरकारी सञ्चारमाध्यमले उत्तर कोरिया भ्रमणमा रहेका पुटिनलाई उद्धृत गर्दै सम्झौताका बारेका समाचार लेखेका छन् ।

सम्झौतामा एक अर्कामाथि हमला भएमा दुवै देशले एक अर्कालाई सहयोग उपलब्ध गराउने सहमति गरिएको छ ।
रुसी सरकारी समाचार एजेन्सीले पुटिनलाई उद्धृत गर्दै यो सम्झौतालाई ‘ऐतिहासिक दस्ताबेज’ भनेको छ ।

‘आज हस्ताक्षर गरिएको विस्तृत साझेदारी सम्झौतामा अन्य कुराहरूका साथै आक्रमण वा युद्धको अवस्थामा एक अर्कालाई पारस्परिक सहयोग समावेश छ ।’
समाचारमा पुटिनको भनाई उधृत गरिएको छ । यो रक्षा सम्झौताको असर रुस र युक्रेनमा पनि देखिने विश्वास गरिएको छ ।
यी दुई नेताको भेट ‘बाँकी विश्वका लागि नराम्रो खबर हो ।’ भनेर अमेरिकी गुप्तचर एजेन्सी सीआईएका पूर्व विश्लेषक सु मी टेरीले बीबीसीलाई भनेका छन् । उत्तर कोरियाको भ्रमणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भव्य स्वागत गरिएको थियो ।
यहाँबाट पुटिनको भियतनाम जाँदैछन् । सैन्य सहयोग सम्झौतामाथि दक्षिण कोरियाले रुसलाई ‘लक्ष्मण रेखा’ पार नगर्न चेतावनी दिएको थियो । सम्झौतामा हस्ताक्षरपछि उत्तर कोरियाली नेता किमले आफ्नो देश वा रुसमाथि आक्रमण वा युद्ध भएमा उत्तर कोरियाले ‘बिना हिचकिचाहट’ जवाफ दिने बताएका थिए ।
उत्तर कोरिया र रुसबिचको सम्बन्ध अब सहयोगको नयाँ तहमा उक्लिएको र यसले ‘बहुध्रुवीय विश्व’ निर्माणको प्रक्रियालाई गति दिने किमको भनाइ छ ।

यस्ता छन् सम्झौताका मुख्य  बुँदाहरू :
१. अमेरिका र उसका सहयोगी राष्ट्रहरूले उत्तर कोरियामाथि लगाएको अन्तहीन नाकाबन्दीलाई राष्ट्रसङ्घीय सुरक्षा परिषदमा पुनरावलोकन गर्नुपर्नेछ ।
२. आक्रमणको अवस्थामा आपसी सहयोगका लागि दुई देशबीच विस्तृत साझेदारी सम्झौता भएको छ ।
३. रुसी भूमिमा आक्रमण गर्न युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र, एफ-१६ लडाकु विमान र अन्य अत्याधुनिक हतियार र उपकरण उपलब्ध गराउनेबारे अमेरिका र नाटो देशले दिएका बयानलाई पनि ध्यानमा राखिएको छ ।
४. सम्झौता अन्तर्गत रुसले उत्तर कोरियासँग सैन्य प्राविधिक सहयोगको विकासलाई अस्वीकार गरेको छैन ।