• असार २० २०८१, बुधबार

रोल्पाको थबाङबासीले विशेष तरिकाले मनाए भूम्या पर्व

असार ६ २०८१, बुधबार

थवाङ, ५ असार । नाम्क व्यवस्थापन समिति थबाङ रोल्पाले आइतवार ठुलोगाउँमा नम्चुङ (ज्येष्ठ नागरिक) तथा कटुवाललाई सम्मान गरेको छ । समितिका अध्यक्ष धन रोकामगरको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सद्स्य सन्तोष बुढामगरको प्रमुख आतिथ्यमा भएको थियो ।
नाम्चुन ढोङ्गे बुढामगर ९० वर्ष र फर्कमान घर्तीमगर (पाहुना घर्ती) ८९ वर्ष, कटवाल जबरसिङ विकलाई टोपी पगरीले सम्मान गरेको हो ।
प्रमुख अतिथि बुढामगरले भूम्या बहुआयामिक र नलेखिएको पुस्तक भएको भन्दै यो खोज अनुसन्धान गर्न सकिने महान् पर्व भएको बताए । यसमा आध्यात्मिकता रहेको छ र उत्पादन सम्बन्धसित पनि जोडिन्छ । उनका अनुसार भूम्यामा भल पैरो रोक्न र रोगब्याधि आउन नदिन पुकार गरिन्छ । यसमा युवा युवतीले प्रेम र विवाह गर्छन् । बाँचेर भेट भयो भन्दै न्याहो गीत गाउँछन् । मनोरञ्जन गर्छन् ।

उनले नयाँ पिढीलाई यसको संरक्षण गर्न र पहिलेको जस्तै नभए पनि संकेतका रुपमा मात्र भएपनि सबै चीज भएकोले यो पर्वलाई नभुल्न आग्रह गरे । यो पर्व मनाउँदा बोका काटिन्छ । पूर्वीरुकुम र रोल्पाका विभिन्न ठाउमा कतै राते, कतै सुँगुर, कतै भाले काटिन्छ । यो पुर्खाले बचाउँदै ल्याएको इतिहास हो । त्यस अवसरमा प्रकाश बुढाले मङ्जेर (लेकाली) को बलियो लाठी ज्येष्ठ नागरिकलाई बाँडेका थिए ।

समितिका अनुसार मेला पाँच दिन चल्ने, त्यस अवधिमा जाँडरक्सी अत्याधिक खान नपाइने, पसल गर्नेले हरेक दिन सफा गर्ने, पोसाक नलगाएका नाचको बिचमा नघुस्ने लगायतका नियम बनाइएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य उदय घर्तीमगरले र सञ्चालन दलसुर रोकामगरले गरेका थिए । गत बिहिबार मुलघर सुबिन्द्र रोकाकोमा थालातेने (थाम्ने) नाचपछि फूल टिप्न जाने जलजलाको यात्रा शुरु भयो । बाजागाजा सहित मुलथाङे, मुलथाङेनीहरु नाच्दै गएका थिए ।

त्यो समूहलाई थबाङको ठुलो गाउँको पूर्वी किनारा ढिन्कलाखङसम्म धेरैले साथ दिए । त्यसपछि डोका बोकेका युवतीहरु, मगर पोषाक लगाएका पुरुष महिला अघि बढेका थिए । एउटा दमाह र टेम्को बजाउँदै अघि बढे अरु दमाह फर्किएका थिए । बाटोभरी पाँच ठाउँमा पूजा गरिएको जलजला जाने युवाहरुको नेतृत्व गरेका सम्राट रोकाले बताए ।

उनका अनुसार उनीहरु विहिवार साँझ जलजला पुगेका थिए । त्यहाँ तिनचाला भूम्या नाच नाचियो । त्यसलाई पनि थाला थाम्ने भनिन्छ । नाचपछि पुजारी बाहेक अरुले खानपिन र आराम गरे । राती नाचगान तथा दोहोरी गाए । शुक्रबार विहान सबेरै उठेर थानमा पुगि बराहको पुजा गरे सँगै नाम्कमा लिइने रथबिरथ दुर्लभ फूल खोजियो ।

त्यो दुर्लभ फूल बन्चरेमा मात्रै पाइने भूम्या (नाम्क) व्यवस्थापक अमित घर्तीमगरले बताए । उनका अनुसार त्यो फूल पाइने ठाउँमा सिमेभुमे पुजा गरेर फूल टिप्नेले नास्ता पानी गर्छन् । त्यसपछि फूल टिप्छन् । सबैले टिपेका फूल एक ठाउँमा संगाल्छन् । ठुल्ठुलो मुठा पारेर बाँध्छन् । अनि मुर्लाको लागि लेकाली सल्ला खोज्न जान्छन् । त्यो मात्रै पवित्र मानिन्छ ।

लेकाली सल्ला भन्दा अरु मुरल्ला बनाइँदैन । त्यो रुख मुरल्ला काट्नु अघि धुपाएर पुजा गरिन्छ । राता सेता धजा बाँधिएको हुन्छ ।

त्यो पुजा गर्नुको कारण कुनै अनिस्ट नहोस् भन्ने पुकारा हो । मुरल्ला काट्दा विशेष सावधानी अपनाउनु पर्छ । टुप्पो भाँचियो भने अशुभ मानिन्छ । कति अग्लो छ, उपयुक्त छ छैन भनेर अध्ययन हुन्छ । मानव जीवन सरल सहज बनाउन, प्राकृतिक प्रकोप अति वृष्टि, अनावृष्टि, अनिकाल नहोस्, त्यो नहुन प्रकृति खुसी हुनुपर्छ । प्रकृति खुसी भए रोग ब्याधि लाग्दैन, भल पैरो आउँदैन । त्यसैको पुकार गर्न मुरल्लाको पुजा गर्छन् । त्यसलाई पूजा गरेर नाच्दा जिमिभूमि खुसी हुन्छन् भन्ने परम्परा छ ।

अहिलेको पुस्ताले परिवर्तित अवस्था अनुसार परम्परालाई सजिलो बनाउँदै लगेको ज्येष्ठ नागरिक विनय झाँक्रीको भनाई छ । करीब पचहत्तर वर्षीय झाँक्रीका अनुसार उहिले फूल टिप्नेहरु एकहप्ता जलजलामै बस्थे । अहिले एक ात बास बस्छन् । त्यहाँबाट जरुवा पानी शुक्रबार साँझ आइपुग्छन् । पहिले जरुवापानीमै तिन चार दिन बस्थे । मान्द्रोले बारेको घर बनाउँथे । अहिले तिर्पाल लगाउँछन् ।

एकरात बस्छन् । उहिले गाइगोठ प्रसस्त हुन्थे । खिर पकाइ खान्थे । मुलथाङे मुलथाङेनीले जाँडरक्सी दिन्थे । अहिले भङ भएको एउटा गोठ छैन । मुलथाङेले रक्सी दिने गोठालाले मस्याउरा खिर दिन्थे । अहिले त्यो छैन ।

पूजा गर्ने बेला असार एक गते बिहानै कट्वालेले गाउँमा सबैले सुन्नेगरी हाक हाल्थे । जरुवा पानीबाट नेवाह गाउँदै मुरल्ला बोकेको समूह गाउँतिरको यात्रा शुरु भएपछि कसैलेपनि चाखी पिस्न, बाला चुट्न पाउँदैन्थ्यो । अहिले मिलमा पिसिन्छ । बाला पनि छैनन् । कसैले काम गरेपछि सिमेभुमे रिसाउँछन् भन्ने थियो । सिमेभुमे खुसी भए भल पैरो रोकिन्छ । रोगब्याधि आउँदैन । कुनै प्राकृतिक प्रकोप आइपर्दैन भन्ने मान्यता रहेको छ । कटवालेले हाक दिने चलन छ ।

नाच्दै आएको भूम्या टोली नोकोबाङे बलपूजा गर्ने मन्दिर पुगेपछि बोकालाई धुपधुवाँर गरिन्छ । त्यसलाई तानेर लतार्दै हात नफेरेर गाउँको पुछार नाम्चुन लैजाने गरिन्छ । बोका तानेर लैजानेले हात फेरे भलपैरो जान्छ । अनिस्ट हुन्छ भन्ने चलन अहिले पनि छ ।

दिन घटाएपनि भूम्याको परम्परागत चलन बचाएका छन् । फूल टिप्ने र जरुवा पानीमा बस्ने त्यही चलन जिवित छ । बोका एक साल दलितले अर्को साल जनजातिले बनाउने चलन पनि चलिरहेको छ । गाउँ भरीकाले बोकालाई धुलो माटो सब फाल्छ, रुघा, लुतो कोर सबै लैजा भन्ने चलन छ ।

जलजलामा पाँच सात रात बस्थे, रक्सी लगेर जाने, उता ग्वालाले खिर पकाइदिने गर्थे । अहिले ग्वाला हुँदैनन् । खुला चरीचरण थियो । गाई भैंसी भेडाका गोठ हुन्थे । अहिले गाउँबाटै पकाएर डोकोमा लैजान्छन् ।

जरुपानीमा राँगा काट्ने र खाने । यताबाट लुगा लगेर जाने, तिनलाई खुवाउने हुन्थ्यो । अहिले बास बस्छन् र पकाई खान्छन् । राँगा काट्दैनन् । एक रात बस्ने तिर्पालको गोठ बनाउँछन् । गाउँबाट साकसक्क गर्ने र खानेकुरा लैजान्छन् । गोठ बनाइदिन्छन् । मुरल्ला गाडिन्छ । त्यहि भूम्या नाच नाचिन्छ ।

भूम्या चलुञ्जेल अबिर र फुल लाइदिन्छन् । फूलसित भूमेको पात हुन्छ । मुलथाङे समितिले असार पाँचसम्म नाच चलुञ्जेल शिरमा लगाइदिन्छन् । बुधवार साँझ युवा युवती जम्मा भएर जमान झाँक्रीको घरमा रोटी पकाए । बिहिबार बिहान आलु र चनाको अचार पकाएर डोकोमा प्याक गरेर बोकी लगेका थिए । एक गते विधिवत नाच शुरु हुने छ । गत १५ गते बाजा फुकाएर गाउँको बिचमा साँझ साँझ नाचेका थिए । त्यो नाच बुधवार साझदेखि सकिएको थियो ।

जरुवा पानी गएर हर्ष बढाई गर्दै फूल र मुरला ल्याइएक थियो । उकालोमा नेवाह गाइयो, गोबाङ ओरालोमा धापा धामी (तरुण तन्नेरी ) तानातान गरियो । ठुलो गाउँ पुगेर बोका तानिएको थियो । त्यसको बलि दिएर एक गते दिउँसो नाम्क पोमा (खेल मैदान) मा शुरु भएको छ ।