• असार १६ २०८१, शनिबार

हिलोले हात खुट्टा चिलाएर हैरान हुनुहुन्छ ? रोकथाम र उपचारका उपाय

असार ६ २०८१, बुधबार

एकदमै हात र खुट्टाको कापकापमा चिलाउने, छालाको कत्ला निस्किने, छाला रातो हुने, पानीको फोका उठ्ने सेतो पाप्रा जम्ने, औंलाहरु सुन्निने र दुख्ने गर्छ । यसलाई हिलोले खाएको भनेर चिनिन्छ । हिलोले खाने भनेर चिनिने यो समस्या खासगरी ‘क्यान्डिडा’ नामको एक प्रकारको ढुसीका कारण हुन्छ ।

वर्षायामको समयमा हिलोले हात खुट्टा चिलाउने, हिलोले खाने तथा पाक्ने समस्या देखिन्छ । यो समस्या शहरी क्षेत्रमा भन्दा बढी ग्रामीण क्षेत्रमा धेरै पाइन्छ । ग्रामिण क्षेत्रमा पानी परेको बेलामा खेतबारीको काम गर्नु पर्ने हुँदा हिलोमा धेरै समय बिताउनु पर्ने बाध्यता रहन्छ ।

हिलोका कारण छालामा विभिन्न समस्याहरू देखा पर्न थाल्छन् । त्यस्तै, शहरी क्षेत्रमा पानी परेपछि सडकमा हिलो हुने कारणले धेरै मानिसहरू प्रभावित भएका हुन्छन् । धेरै बेरसम्म हिलोको सम्पर्कमा रहँदा, काम गरिरहँदा धेरैको हत्केला र पैँतालाको काप चिरिने गरी असर प्रष्ट देखिन्छ । हिलोले गर्दा भएको यस्तो घाउलाई उपचारका लागि अनेकौं घरेलु औषधिको प्रयोग गर्ने गरिन्छ ।

हिलोले खाएको रोग के हो र यस समस्याको रोकथामका लागि के गर्नुपर्छ र के गर्नु हुन्न भन्ने कुरा धेरैलाई थाहा नभएको विषय हो । हात खुट्टाको औँलाको कापमा हिलोले खाएको भनेर चिनिन्छ । हिलोले खाने समस्या खासगरी ‘क्यान्डिडा’ नामको एक प्रकारको ढुसीका कारण हुने गर्छ । हिलोमा उक्त ढुसी प्रशस्त पाइने हुँदा हात खुट्टाको सम्पर्कमा आउँदा हात खुट्टाको कापमा टाँसिएर यसले समस्या उत्पन्न गराउन थाल्छ ।

हिलोले खाँदा हात खुट्टाको औँलाको बीचमा चिलाउने, रातो हुने गर्दछ । यसको तुरुन्त उपचार गर्न नसकेको खण्डमा यो पाकेर ठूलै समस्याको रूप लिने क्रममा ‘क्यान्डिडा’ले उक्त ठाउँको मासु बिस्तारै खाने गर्छ । यो समस्या हिलोमा काम गर्ने मान्छेलाई मात्र नभएर लामो समयसम्म पानी चलाउनुपर्ने कामहरू गर्ने मानिसलाई समेत हुन सक्छ । लामो समयसम्म पानी चलाउने मानिसहरूको हात तथा खुट्टालाई हिलोले खाने गर्दछ ।

हिलोले खाँदा हिँड्न, काम गर्न निकै अप्ठ्यारो हुन्छ । हिलोले खाँदा उक्त ठाउँमा दुलो पर्न गइ सिधै विभिन्न इन्फेक्सन निम्तिने ठाउँ बन्न सक्छ । समयमा यसको उपचार नगरेको खण्डमा विभिन्न ब्याक्टेरिया तथा भाइरसको कारणले ’सेलुलाइटिस’ भएर पीप जमेर हिँड्नै नहुनेगरी खुट्टा सुन्निने हुन सक्छ । त्यसैले धेरै पानीमा काम गर्ने, खेतीपातीमा काम गर्ने, पानी परेको समयमा सतर्क रहनु पर्छ । हिलोबाट खाने समस्याबाट रोकथामका लागि सकेसम्म हिलोमा काम नगर्ने, गर्ने परे पञ्जा र जुत्ताको प्रयोग गर्नु पर्छ ।

पानीको प्रयोगलाई घटाउनु पर्छ, पानी परेको समयमा रेनकोट, पन्जा तथा जुत्ताको प्रयोग गर्नुका साथै सकेसम्म हात तथा खुट्टालाई सुख्खा राख्न सक्नुपर्छ । पानी परिसकेको खण्डमा सफा कपडाले खुट्टालाई पुछेर सुक्खा बनाउनुपर्छ । हिलोमा पसेर काम गर्नुपर्ने अवस्था आएमा हात, खुट्टा र औँलाको कापमा भ्यासेलिन, तेल वा अन्य कुनै मोइस्चराइजर लगाउने बानीले केही हदसम्म यो समस्यालाई कम गर्न सक्छ । कामले जतिसुकै थाके पनि बाहिरबाट आएर हातखुट्टा धोएर सुक्खा बनाइ क्रिम वा जेल लगाएमा पनि हिलोले खाने रोगबाट बच्न सकिन्छ ।