• असार १४ २०८१, बिहीबार

धितोपत्र बोर्ड अध्यक्षकाे तीन आकांक्षी सम्पर्कमा आएनन

असार ५ २०८१, मंगलवार

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई गत आइतबार बिहान ९ बजे व्यावसायिक प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलायो । उक्त दिन पाँच जनामध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्र उपस्थित भए ।

अध्यक्षका लागि सर्टलिस्टमा परेका बाँकी तीनजना डा. नवराज अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाईं भने उक्त दिन आएनन् । सो दिन उहीहरू फोन नै अफ गरेर बसे । उनीहरू अहिलेसम्म पनि आफ्नो मोबाइल अफ गरेर बसेका छन् ।

बोलाएको समयमा राष्ट्रिय योजना आयोगको हलमा उपस्थित नभएपछि अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले तीन जनाका लागि बुधबार (भोलि)का लागि समय तोकोको छ । तर, उनीहरू अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् ।

उनीहरूको राजनीतिक आस्था एउटै भएकाले सल्लाह गरेरै प्रस्तुतीकरण र अन्तर्वार्तामा उपस्थित नभएको हुन सक्ने अनुमान गरिएको छ । स्रोतका अनुसार थपिएको समयमा पनि उनीहरू नआउन सक्ने सम्भावना छ ।

स्रोतका अनुसार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री वर्षमान पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सन्तोषनारायणलाई जसरी पनि बोर्डको अध्यक्ष बनाउनुपर्ने दबाब दिएका छन् । यसैकारण पनि तीनजना एकै राजनीतिक आस्था भएकाले अध्यक्ष नहुने देखेपछि अन्तर्वार्तामा उपस्थित नभएको हुन सक्ने स्रोतको अनुमान छ ।

स्रोतका अनुसार तीनजना प्रस्तिस्पर्धीहरूले व्यावसायिक प्रस्तुतीकरण र अन्तर्वार्ता भए मन्त्रिपरिषद्मा नाम सिफारिस गर्न सकिन्छ । तर, दुई जनाको मात्र प्रस्तुतीकरण र अन्तर्वार्ता भएकाले तीन जनाले यो प्रक्रिया रद्द गर्न खोजेका हुन् । उनीहरू बुधबार उपस्थित नभए मन्त्रिपरिषद्ले नै अध्यक्ष छनोट प्रक्रिया रद्द गर्नेछ । त्यसपछि पुनः अध्यक्षका लागि सिफारिस समिति गठन गर्न सक्नेछ ।