• असार १४ २०८१, बिहीबार

शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्छु : शिक्षामन्त्री श्रेष्ठ

असार ५ २०८१, मंगलवार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने बताएकी छन् । मंगलबार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गर्ने कार्यको थालनी भएको बताइन् ।

उनले शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेन्डा लागु गरेर छोड्ने बताइन् । यो क्षेत्रमा अहिलेसम्म भएको कार्यप्रगति चित्तबुझ्दो नभए पनि सुरुआत भएको उल्लेख गरिन् ।

सरकारले मात्रै गर्नेभन्दा पनि सबैको सहयोगको आवश्यकता रहेको सुनाइन् । सबैको साथ सहयोग भए मात्रै यो एजेन्डाले सार्थकता पाउनसक्ने बताइन् । शिक्षामा दलीय राजनीतिकरण रहेसम्म समाज, शिक्षक र विद्यार्थीहरूको शिक्षण पेसामा मर्का र्पुयाइरहने उल्लेख गरिन् ।

उनले मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आवद्ध शिक्षकहरूको तथ्यांक माग गरे पनि प्राप्त नभएको बताइन् । अहिलेसम्म ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको दाबी गरिन् । सय दिनको उपलब्धिमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको, ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र चारजनाले सफाइ पाएको उल्लेख गरिन् ।

उनले शिक्षा विधेयक कहिलेसम्म आउँछ भन्ने आफूलाई यकिन भएको बताइन् । ‘धेरैले शिक्षा विधेयक कहिले आउँछ भनेर सोध्नु हुन्छ । हामी कार्यपालिकामा छौँ । विधेयक व्यवस्थापिकामा छ । कहिले आउँछ भनेर मौखिक र लिखित रूपमा चाँडै ल्याउन आग्रह गरिसकेका छौँ । समितिले हरेक प्रदेशमा गएर छलफल गर्ने कुरा भएको थियो । समितिले त्यो काम गरिरहेको छ भन्ने लाग्छ । तर, विधेयक अहिले आउँछ भन्ने प्रश्न सोधिन्छ । त्यो चाहिँ ‘आई डन्ट नो’ त्यो मेरो हातमा छैन,’ उनले भनिन् ।

उनले मुलुकको क्षिक्षा क्षेत्र सुधारको लागि विभिन्न समयमा भएका अनियमितामा आयोगहरूले गरेको प्रतिवेदन खोल्ने र अनुसन्धान प्रक्रियाको थालनी भएको बताइन् ।