• आश्विन ५ २०८१, शनिबार

संसदमा बजेटमाथिको छलफलको कुनै अर्थ नरहेको सांसद अमरेशकुमार सिंहकाे भनाई

असार ५ २०८१, मंगलवार

काठमाडौं । प्रतिनिधिसभाका सांसद डा.अमरेशकुमार सिंहले संसदमा मन्त्रालयगत बजेटमाथिको छलफल गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री र मन्त्रीहरूले सुनुवाइ नगर्ने भएकाले संसदमा सो बजेटमाथिको छलफलको कुनै अर्थ नरहेको उनको तर्क थियो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटको मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद सिंहले संसदमा सांसदहरूले बोलेको कुरा बाटोमा हिँड्ने बटुवाले बोलेसरह पनि नहुने गरेको गुनासो गरे ।

उनले अहिले पनि राणा र पञ्चायतकालको झल्को दिने गरी सरकार चलेकाले गणतन्त्र र पञ्चायतकालमा फरक देख्ने अवस्था नरहेको बताए ।‘कसैले भन्छ – पञ्चायत र गणतन्त्रमा फरक छ । मलाई त्यस्तो लाग्दैन । किनकि यहाँ जनप्रतिनिधिहरूको जुन बिजोग देख्छु ।

राजा र छोटे राजाको बीचमा बजेटको विषयमा छलफल गर्नु नै बेकार छ । राजा भनेको प्रधानमन्त्री र छोटे राजा मन्त्रीजीहरू हुन’, उनले भने । सांसद सिंहले शासकहरूमा पञ्चायतकालकै सोच भएकाले त्यसले संसदीय व्यवस्थालाई पनि नफापेको जिकिर गरे ।