• असार १३ २०८१, बुधबार

जर्मनीद्वारा राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’ को सम्मान प्रदान

असार ४ २०८१, सोमबार

काठमाडौं । जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले ‘गार्ड अफ अनर’ को सम्मान दिएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको हो ।

राष्ट्रपति पौडेल र राष्ट्रपति स्टाइनमायरबीच जर्मनीको बर्लिनअवस्थित राष्ट्रपति भवनमा सोमबार भेटवार्ता भएको छ । स्विट्जरल्यान्डको जेनेभामा भएको ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएर राष्ट्रपति पौडेल जर्मनी गएका हुन ।

राष्ट्रपति पौडेल र राष्ट्रपति स्टाइनमायरबीचको भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको बताएका छन् । बदलिँदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास पनि उनले व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति स्टाइनमायरले जर्मनी नेपालको आर्थिक विकासका लागि हरतरहको सहयोग गर्न तत्पर रहेको बताएका पनि पोखरेलले जानकारी दिए । सन् १९८६ यता राष्ट्र प्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ ।