• असार १३ २०८१, बुधबार

काठमाडौंको टुँडिखेलमा मगर समुदायले मनाए भूमे पर्व (तस्विरसहित)

असार ३ २०८१, आईतवार

काठमाडौं । देशभरबाट काठमाडौं आई बसोबास गरेका मगर समुदायले यसपालीको भूमेपर्व काठमाडौंको टुँडिखेलमा मनाएका छन् । हजारौंको संख्यामा आफ्ना भेषभूसासहित उपस्थित भएका मगर समुदायका बीचमा कार्यक्रमको उद्घाटन बाजा बजाएर अर्थमन्त्री वर्षमान पुनले गरे ।

सो अवसरमा बोल्दै मन्त्री पुनले नेपाल विविध जातिहरुको फूलबारी भएको भन्दै शिव, मुन्धुम, बुद्ध र जानकी जस्ता इतिहासका विषयलाई पर्यटनसित जोड्नको लागि सरकारले कार्यक्रम बनाइरहेको बताए ।

सो अवसरमा चलचित्र ‘घर ज्वाइँ’का कलाकार दयाहाङ राई र मिरुना मगर पनि सहभागी थिए । मानव जातिलाई कुनै पनि बिपत्ती नआवस् भनेर भूमीलाई पूजा गर्ने गरेको चलन मगर समुदायमा रहिआएको छ ।

सो अवसरमा मन्त्री पुनले ‘मगर मौलिक साँस्कृतिक गरिमा राष्ट्रिय पुरस्कार २०८०’ डा.मिनबहादुर श्रीषमगरलाई कदरपत्र सहित प्रदान गरे भने साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरका महाप्रबन्धक किरणबाबु पुनलाई सम्मान गरे ।

सो कार्यक्रममा बोल्दै नायक दयाहाङ राईले किताबमा पढेको रोल्पा र रुकुमका मगर समुदायलाई चलचित्र ‘घर जवाइँ’मा बुझ्ने मौका पाएको बताए । अर्का वक्ता अन्तराष्ट्रिय मगर महासंघका अध्यक्ष नवीन रोकामगरले नेपाली समाज रंगीन रहेको भन्दै उत्पीडित मगर जातिले धर्तीलाई सम्मान गर्ने बताए ।

उनले मानव जाति र जीवहरुको संरक्षणको लागि सबैले धर्तीको रक्षा गर्नुपर्ने बताए । सो अवसरमा नायिका मिरुना मगरले आफू विदेशमा बसेकोले नेपालमा रहेका मगरहरुको चाडहरुका बारेमा थाहा नभएको भएपनि भूमे जस्ता पर्वहरुका सहभागी हुन पाउँदा आफ्नै जातिको संस्कृतिको बारेमा जानकारी राख्न पाएकोमा खुशी व्यक्त गरिन् । उनले घर जवाइँ चलचित्र हेरिदिन आग्रह पनि गरिन् ।

मगर संस्कृतिविद बमकुमारी बुढामगरले पृथ्वीनारायण शाहले मगर लगायतका जनजातिहरुको संघात्मक राज्य मासेर एकात्मक राज्य बनाएको भन्दै आज मगरहरुलाई खेलौना बनाएको दुखेको गरिन् । कार्यक्रममा साँस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले मगर जातिको हितको लागि फराकिलो चिन्तन बनाउनु पर्नेमा जोड दिए ।

संस्कृति भनेको नाचगान मात्र नभएर जीवनको समग्र पक्ष भएको भन्दै महाप्रबन्धक पुनले यसको संरक्षण र विकासको लागि हामी सबै लाग्नु पर्ने बताए ।

प्राध्यापक डा.मिन श्रीषमगरले राम्रो वर्षात् होस् र बालिनाली सप्रियोस् भनेर प्रकृतिको पूजा गर्ने चलन नै भूमेपर्व भएको बताए । सो अवसरमा मगरजातिको हितको लागि काम गरेको भन्दै अर्थमन्त्री वर्षमान पुनलाई नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनले कृतज्ञतापत्र प्रदान गरे ।

सोही अवसरमा बोल्दै नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले सरकारले गर्नुपर्ने कार्यक्रम मगर संघले गरिरहेको भन्दै सरकारले यस्ता कार्यक्रमको स्वामित्व लिनुपर्ने बताए ।

उनले विदेशी पर्यटकलाई ल्याउने हो भने नेपालको संस्कृति र प्रकृतिको संरक्षण हुनुपर्नेमा जोड दिए । कार्यक्रम हरि पुनमगरले संचालन गरेका थिए भने स्वागत मन्तव्य भूमे पर्व संरक्षण समितिका अध्यक्ष पागलाल बुढामगरले गरेका थिए l

तस्विरहरू : राेमन बुढामगर