काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
संघीय शासन प्रणालीको नौ वर्षको व्यवहारिक अनुभवबाट हाम्रो मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्व संघीयता भएको कुरा स्पष्ट हुँदै गइरहेको अध्यक्ष केसीको भनाइ थियो ।
उनले शासकहरूको प्रवृत्ति एकात्मक हुँदा पनि मुलुकका लागि संघीयता पासो बन्न गएको जिकिर गरे । अध्यक्ष केसीले संघीयताको सुदृढीकरणका लागि विश्व बैंक लगायतबाट ऋण लिएर त्यसको भार नेपाली जनतालाई बोकाउने कुरा मान्य नहुने बताए । अध्यक्ष केसीले संघीयताले मुलुकलाई विखण्डनको बाटोमा लैजाने देखिएको पनि बताए ।